अपडेट 
२०७९ चैत्र २, बिहीबार ०७:१५

उपराष्ट्रपतिको चुनावमा १० दलीय गठबन्धन विभाजित भएको छ । एकजना उम्मेदवारमा सहमति जुटाउन बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठक निर्णयमा पुग्न सकेन् ।

१० दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी(जसपा)का रामसहाय यादव र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले जसपाका उम्मेदवार यादवलाई समर्थन गर्ने पार्टीगत आधिकारिक निर्णय गरिसकेका छन् । जसपाका उम्मेदवारलाई राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी(बाबुराम भट्ट्राई)ले पनि समर्थन जनाइसकेका छन् ।

बैठकमा जसपाका उम्मेदवार यादवलाई सघाउन जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र नागरिक उन्मुक्ति पार्टी(नाउपा) झालाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने अडान नछाडेपछि बैठक निर्णयमा पुग्न सकेन् । जसपाका यादवलाई गठबन्धनको साझा उम्मेदवार बनाउन बैठक बोलाइएको थियो ।

गठबन्धनमा रहेका ठूला चार दलबीच यस अघि नै उपराष्ट्रपतिमा जसपालाई सघाउने सहमति भइसकेको छ । कांग्रेसलाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिने सहमति सहित चार दलीय गठबन्धन निर्माण भएको थियो । गठबन्धनमा पछि थपिएका जनमत, लोसपा र नाउपाले अलगै तालमेल गरी झालाई समर्थन गर्ने निर्णय गरेका हुन् । झाको समर्थक, प्रस्तावकमा लोसपा र नाउपाका सांसदहरु रहेका छन् । बैठकमा उनीहरुले झाकै पक्षमा सहमति बनाउन आग्रह गरेका थिए । तर ठूला दलका नेताहरुले जसपाका उम्मेदवारलाई नै सहमति गर्न आग्रह गरेका थिए ।

बैठकमा सहमति हुन नसकेपछि विहीबार बिहान पुनःबस्ने गरी स्थगित भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बैठकमा सकारात्मक छलफल भए पनि सहमति जुट्न नसकेको बताए । ‘उपराष्ट्रपतिको चुनावमा नै बैठक केन्द्रित रहेको थियो’ उनले भने, छलफल सकारात्मक भए पनि सहमतिमा पुग्न सकेन् ।उनले विहीबार बस्ने बैठकले थप निर्णय गर्ने बताए । ‘उपराष्ट्रपति निर्वाचनका लागि १० दल बीचमा समझदारी कायम गर्न छलफल भएको थियो’ बस्नेतले भने, तर निर्णयमा पुग्न नसकेकाले विहीबार पुनः बैठक बसेर थप निर्णय गरिनेछ । बैठकमा सरकार विस्तारको विषयमा पनि छलफल भएको उनले बताए ।

‘मन्त्रिमण्डल विस्तारको विषयमा पनि छलफल भएको हो’ उनले भने, प्रधानमन्त्रीले उपराष्ट्रपतिको चुनावपछि विश्वासको मत लिने विषयमा पनि सामान्य छलफल भएको हो । उपराष्ट्रपतिमा १० दलीय गठबन्धनबाट उम्मेदवार रहेका यादव र झाका अतिरिक्त एमालेबाट अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छिन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल निकट रहेकी शाक्यले एमाले विभाजनको क्रममा उनी ओली पक्षलाई रोजेकी थिईन् । त्यसपछि उनी बागमती प्रदेशको मुख्यमन्त्री पनि केही दिन रहेकी थिइन् । एमालेकी शाक्यलाई हाल सम्म अन्य दलले समर्थन जनाएको छैन् । तर एमालेका अध्यक्ष केपी शर्मा ओलीले जित्ने दाबी गरिरहेका छन् ।

गठबन्धन दल विभाजित भएकाले एमालेकी शाक्य जित्ने संभावना बढेको ओलीको विश्वास छ । शाक्यलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदहरुले पनि मतदान गर्ने एमालेको विश्वास छ । यद्यपि रास्वपाले उपराष्ट्रपतिमा कता ? मतदान गर्ने निर्णय गरिसकेको छैन् । राष्ट्रपतिको निर्वाचनमा रास्वपाले १० दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गरेका थिए ।

Comment


Related News

Latest News

Trending News