
कमला सिँचाइ पश्चिमी नहर प्रणाली जल उपभोक्ता संस्था, धनुषाद्वारा सिँचाइ सेवा शुल्क संकलन तथा सदस्यता वितरण अभियान सञ्चालन गरिएको छ ।
जिल्लाको हंसपुर नगरपालिका–६ सोनिगामास्थित बिहीबारदेखि सिंचाई सेवा शुल्क संकलन अभियान शुरु गरिएको छ । संस्थाका पदाधिकारीसहित सरोकारबालाहरुले सामूहिक रुपमा शुरु गरेको अभियान एक सातासम्म चल्ने छ । सो अभियानको क्रममा १० हजार किसानलाई संस्थाका सदस्य बनाएर जोडिने लक्ष्य रहेको कमला सिंचाई पश्चिमी नहर प्रणाली जल उपभोक्ता संस्था, धनुषाका संयोजक गजाधर रोहिता यादवले जानकारी दिए । यादवका अनुसार लामो समयदेखि संस्था समितिविहीन रहेको थियो । झण्डै १३ वर्षपछि किसानहरुले संस्थालाई जीवन्त पार्ने जमर्को गरेको संयोजक यादवले बताए । अहिलेसम्म डेढ हजार बढी सदस्य थप भइसकेको उनले जनाए । संस्थाले सदस्यता शुल्क १० रुपैयाँ र सिचाई सेवा शुल्क प्रति कठ्ठा १० रुपैयाँ निर्धारण गरेको छ । अहिले भने संस्थाले दुई वर्षको सिंचाई शुल्क एक साथ र सदस्यता शुल्क संकलन गरिरहेको यादवले बताए ।
उक्त संस्था अन्तर्गत रहेको चार वटा शाखामा ५४ वटा उपशाखा रहेको छ । परबाहा शाखा अन्तर्गत रहेको हंसपुर–६ सोनिगामा उपशाखामा जोडिन वडाध्यक्ष सुरेन्द्र कुमार मण्डलले उपभोक्ताहरुमा आग्रह गरेका हुन् । बिहीबार बिहानदेखि सदस्यता लिनका लागि सोनिगामामा उपभोक्ताको भीड लागेको थियो । सदस्यता वितरणको लागि छुट्टा– छुट्टै दुई वटा काउण्टर सञ्चालन गरिएको थियो । संस्थाले आधिकारिकता प्राप्त गरेपछि देशी विदेशी दातृनिकायको सहयोग प्राप्त हुने विश्वास कमला सिंचाई व्यवस्थापन कार्यालय पोर्ताहाका प्रमुख वीरेन्द्र कुमार यादवले बताए । यस प्रकारको प्रणालीहरु सरकारले संयुक्त रुपमा संचालन गर्न ल्याएको अवधारणा अनुरुप उपभोक्ताहरुलाई सक्रिय रुपमा यसमा आवद्ध हुनको लागि आग्रह गरे । उनीहरुबाट सदस्यता र सिंचाई सेवा वापत संकलन गरिएको शुल्कको केही प्रतिशत रकम सरकारको खातामा जाने गरेको छ भने बढी संस्थाकै विकासको लागि उपयोग हुने गरेको उनले बताए ।