अपडेट 
२०७९ चैत्र ४, शनिबार ०७:३७

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई उपनिर्वाचन लड्ने बाटो खुलेको छ ।  बारा–२ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव शुक्रबार उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपेन्द्रका लागि संसद् छिर्ने बाटो खुलेको हो ।

गत निर्वाचनमा सप्तरी–२ मा पराजित भएपछि अब बारा–२ मा उपचुनाव लड्न अध्यक्ष यादवले सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूबीचमा समेत तालमेल मिलाइसकेका छन् । उपराष्ट्रपतिमा निर्वाचित यादवले नेकपा एमालेको सहयोगमा चुनाव जितेका थिए । अध्यक्ष यादव भने अब कांग्रेस र माओवादी केन्द्रसहित दलको समर्थनमा चुनाव जित्ने दाउमा छन् । तर, उपराष्ट्रपतिको निर्वाचनसँगै उनलाई रोक्न मधेशमै अर्को गठबन्धन बनिसकेको छ ।

मधेशी जनअधिकार फोरममार्फत् मधेश आन्दोलन र सडक संघर्ष गरेर राष्ट्रिय राजनीतिमा उदाएका उपेन्द्र तीन पटक उपप्रधानमन्त्रीसहित पटक– पटक मन्त्री बनिसकेका छन् । तर, यो अवधिमा मधेशका मुद्दा सम्बोधनभन्दा पनि सत्ता र संसद्बाहिर अडिन नसक्ने नेता भन्दै उपेन्द्रको संसदीय यात्रा रोक्न जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसहितले मोर्चाबन्दी गरेका छन् ।

जनमत पार्टीले उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाटै उम्मेदवार बनेका जसपाका नेता यादवविरुद्व ममता झालाई उम्मेदवार बनाएको थियो । गत निर्वाचनमा पनि यादवलाई जनमतले नै रोकेको थियो । सप्तरी–२ बाट उम्मेदवार अध्यक्ष यादवलाई जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले १८ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । अब उनी बारा–२ बाट चुनाव लड्ने तयारीमा लागेका छन् । त्यसो त उपेन्द्रका लागि चुनाव क्षेत्र फेर्नु उति ठूलो कुरा भने होइन । सुरुमा पूर्वी तराईबाट चुनाव लडेका यादव अब भित्री मधेश पसिसकेका छन् ।

उनी ०४८ सालको निर्वाचनमा सुनसरी–४ बाट चुनाव लडेका थिए । ०६४ र ०७० मा भने उनी सुनसरी–५ बाट चुनाव लडे । ०७४ को निर्वाचनमा उनी सप्तरी–२ आइपुगे । यसपटक दोहोरिएर निर्वाचित हुने उनको चाहनामा ब्रेक लागेपछि अब उनी बारा–२ माबाट फेरि संसद् छिर्ने दाउमा छन् । तर यादवका लागि कांग्रेस– माओवादीले साथ दिए पनि उपराष्ट्रपति निर्वाचनसँगै देखिएको मधेशवादी दलको नयाँ मोर्चाबन्दी चुनौती बन्न सक्ने देखिएको छ ।

निर्वाचन आयोगले यसअघि रिक्त भएको चितवन–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने मिति तोकेको छ भने रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको तनहुँ–१ र उपराष्ट्रपतिमा निर्वाचित भएका यादवको बारा–२ मा उपनिर्वाचन गर्नेबारे निर्णय लिएको छैन । यी क्षेत्रमा सकेसम्म वैशाख १० भित्रै चुनाव गर्ने कोसिस गर्ने निर्वाचन आयोगका अधिकारीहरुले बताउने गरेका छन् ।

Comment


Related News

Latest News

Trending News