अपडेट 
२०७९ चैत्र ४, शनिबार ०७:५९

कुर्थादेखि बिजलपुरासम्म रेल सेवा सम्भवतः नयाँ वर्षदेखि संचालनमा आउने अनुमान गरिएको छ ।

भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–बिजलपुर–बर्दिवाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन भएको एक वर्ष बित्न लाग्दा पनि कुर्था–देखि बिजलपुरासम्मको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ तर पनि कहिलेदेखि नियमित सञ्चालन गरिने बारे मिति तोकेर भन्न नसकिने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

प्रबन्ध सञ्चालक निरंजन झाका अनुसार चालु आर्थिक वर्ष भित्रै सञ्चालन गरिने तयारी छ,तर स्टेशन तथा हल्टहरुमा सुरक्षाको व्यवस्थापनलगायतका कामहरु बाँकी रहेकोले यही मितिमा सुरु हुन्छ भन्न सकिन्न। कुर्थादेखि बिजलपुरासम्मको ट्रयाक निर्माण, स्टेशन, हल्ट निर्माण भइसककोले नयाँ वर्षसंगै मधेश प्रदेशवासीले नयाँ सौगात पाउने अनुमान गरिएको छ ।

सरकारले बेवास्ता गरेको कारण आर्थिक अभावले स्टेशनमा सुरक्षाकर्मीहरुको लागि आवास तथा खानेपानी लगायतको पूर्वाधार तयार हुन नसक्दा बिजलपुरादेखि कुर्थासम्म रेल संचालन अनिश्चित देखिएको बताइन्छ । कुर्थादेखि जयनगरसम्म संचालनमा रहेको रेल्वे प्रतिदिन एक हजार भन्दा बढी यात्रीहरुले यात्रा गर्ने गरेका छन् । रेलको संख्या र संचालन हुने दूरी सीमित रहेकोले अहिले रेल्वेको आम्दानी भन्दा खर्च एकमदै धेरै देखिएको भए पनि रेल्वे संचालनले यस क्षेत्रको यातायातमा भने नयाँ आयाम थपेको छ । ]

नेपाल रेल्वे कम्पनीका अनुसार रेल्वेको मासिक आम्दानी लगभग ६५ लाख रहेको जनाइएको छ । सुरु भएको एक वर्ष नबित्दै प्रति महिना यात्रीहरुको संख्यामा थोरै भए पनि वृद्धि भएर गएकोले नेपाल रेल्वे कम्पनीको भविष्य सुनौलो हुने विश्वास गरिएको छ । रेल सञ्चालन भएपछि दैनिक दुई लाख १० हजार रुपैयाँको टिकेट बिक्री हुँदै आएको छ । यसरी हेर्दा वार्षिक सात करोड ६६ लाख रुपैयाँ आम्दानी हुन्छ र खर्च १६ करोड । तर राज्यद्वारा प्रदान गरिने सबै सेवाहरु नाफामूलक नै हुन्छ भन्ने होइन,यो सेवामूखी हो र प्रत्यक्ष रुपमा घाटामा जस्तो देखिए पनि गहिरिएर हेर्ने हो भने थुप्रै फाइदा छ।’,उनले भने । रेल्वे सञ्चालन भएपछि दोस्रो मुलुकबाट आउने पर्यटकहरुको संख्यामा वृद्धि हुनु यस क्षेत्रका नागरिकहरुको यातायात खर्च मितव्ययी हुनुलगायतका फाइदै फाइदा रहेको झाको कथन छ ।

जापानको केही रेल बाहेक विश्वका कुनै पनि यात्रुवाहक रेल सेवा नाफामा छैन । प्रबन्धक झाले भने रेल्वे घाटामा छ भनेर हल्ला मचाउनुको कुनै तुक नै छैन,नाफामै लग्नु छ भने तत्काल कार्गो रेलसेवा प्रारम्भ गर्न सक्नुपर्छ। रेल सेवा विस्तार हुँदै जाँदा विस्तारै नाफामै जाने हो । रेल्वेलाई सञ्चालनको आर्थिक व्यवस्थापनका लागि एकातिर दीर्घकालीन योजना अनुसार व्यापारिक कम्पलेक्स निर्माण गरिने भएको छ भने अर्को तर्फ भारतमा हुँदै आएको रेलको फ्युल सिष्टम नेपालमै निर्माण गर्न लागेको बताइन्छ । यस अघि २०७० साल चैत ४ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार सरकारले रेल्वे संचालनका लागि १४ करोड रुपैयाँ प्रदान गरेको थियो । ‘तत्कालीन प्रबन्ध सञ्चालक गुरु भट्टराई रहेको बेला सो रकम नेकपा एमालेको सरकारले प्रदान गरेको थियो त्यसपछि अहिलेसम्म सरकारले एक रुपैयाँ पनि दिएको छैन अनि कसरी चल्दैछ त रेल्वे ।’ भन्ने प्रश्न झाले गरे । बिजलपुरामा फ्युल केन्द्र स्थापनाको लागि काम द्रुत गतिमा शुरु भइसकेको जानकारी दिँदै उनले नेपाल रेल्वे कम्पनी विकोन्मुख रहेकोले यसको प्रबद्र्धनका लागि सबै क्षेत्रको सकारात्मक सहयोग आवश्यक रहेको बताए ।

रेल सञ्चालनका लागि आवश्यक जनशक्ति पनि भारतकै रहेकाले कर्मचारीको तलबका लागि वार्षिक तीन करोड तथा रेल्वे इनधनको वार्षिक खर्च दुई करोड १० लाख रुपैयाँ खर्च हुँदै आएको छ । राज्यद्वारा प्रदान गरिने सबै सेवा नाफामूखी नै नहुने भन्दै नेपाल रेल्वे घाटामा छ भन्ने गुनासो गर्नु अहिले हतार हुने धारणा अर्थविज्ञ एवम् समाजसेवी डा.सुरेन्द्र लाभको छ । उनी भन्छन्,‘सरकारले अस्पतालहरु खोल्छन् के यसमा पनि नाफा खोज्छन् त खोज्दैनन त्यस्तै यातायात सेवाको साधन हो रेल्वे यसमा पनि नाफा भन्दा पनि यसको नियमित सञ्चालको लागि सरकार गम्भीर हुनु पर्छ,रेल्वे विस्तार भइ विस्तारै नाफा हुने नै छ हतार गर्नु भएन।’ देशकै एकमात्र रेल्वे सेवा एकातर्फ भारतीय पर्यटकहरुको लागि कोशे ढुँगा साबित भएको छ भने अर्को तर्फ नेपालकै आन्तरिक पर्यटकहरुका लागि यो ऐतिहासिक रेल दर्शनीय भएकोले यसको संचालनमा अहिले घाटा नाफा भन्दा पनि यसको विस्तार र विकासमा ध्यान केन्द्रित गर्नु पर्ने अर्थविज्ञ लाभको कथन थियो ।

रेल्वे नियमित संचालनमा आएपछि भारतीय पर्यटकहरुको आवागमनमा व्यापक वृद्धि हुनु नै तत्कालको लागि ठूलो नाफाको कुरा रहेको उनले प्रष्ट पारे । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका कार्यकारी निर्देशक प्रदीप दत्तले रेल्वेलाई यात्रुबाहेक नेपाल भारतबीचको व्यापारिक आयात–निर्यातमा प्रयोग नगरे सम्म रेल्वे घाटामै रहने बताए । उनले भने,‘दुई चार वटा बोगी जोडेर भए पनि नेपालको उत्पादन भारतमा निर्यात गर्न सक्नु पर्छ अनि मात्रै राज्यलाई कर र राजश्वमार्फत नाफा देखिनेछ।’ भारतीय पर्यटक पनि अधिकांश जनकपुरधामसम्म आउँदा बस मार्गबाट आउने गरेको बताउँदै उनले भने,‘बढी भन्दा बढी पर्यटक रेल्वेको प्रयोग गर्न बाध्यात्मक अवस्था निर्माण गर्न व्यापक प्रचार प्रसार आवश्यक छ।’

Comment

Related News