
वन विनाश जैविक विविधता संरक्षणमा ठूलो चुनौतीको रुपमा रहेको गुनासो एक कार्यक्रमका वक्ताहरुले गरेका छन् ।
मधेश प्रदेशको उद्योग,पर्यटन तथा वन मन्त्रालयले शुक्रबार जनकपुरधाममा आयोजना गरेको राष्ट्रिय जैविक विविधता संरक्षण सम्बन्धी कार्यशाला गोष्ठीका वक्ताहरुले सो गुनासो पोखेका छन् । कार्यक्रममा वन विज्ञ हेम लाल आर्यालले मधेश प्रदेशमा रहेका वनजंगल विनाश तथा पानीका स्रोतहरु समाप्त पार्ने षडयन्त्र नै भइरहेको आरोप लगाए । उनले भने,‘प्रदेशका वन क्षेत्र एवम् पानीका स्रोतहर धर्म संस्कृतिसंग जोडिएको छ तर विकासको नाउमा धर्म संस्कृतिलाई समाप्त पार्ने षडयन्त्र अन्तर्गत वन विनाश र जलस्रोतलाई नष्ट पार्ने काम भइरहेको छ।’ वन जंगल विनास भएकै कारण जनावरहरु वस्तीतर्फ आउनु,समयमा पानी नपर्नु,वातावरणीय सन्तुलन विग्रिदै जानु जस्ता मुख्य कारणले जैविक विविधताको संरक्षण अत्यन्त ठूलो चुनौती बनेको उनले प्रष्ट पारे ।
त्यसैगरी, उनले राजनीति गर्ने नेताहरुले चुरे क्षेत्रको महत्व बुझ्न जरुरी रहेको बताउँदै उनले भने ,‘ चेतना अभावकै कारण वनस्पतीहरु लोप भइरहेको प्रष्ट छ त्यसैले चुरे क्षेत्रको संरक्षण वन विनाश रोक्नेलगायतमा गंभीर हुनुपर्ने आवश्यकता छ।’ वन अधिकृत सुजित कुमार झाले संघका कर्मचारीहरुले लापरवाही गर्ने र प्रदेश मन्त्रालयलाई बद्नाम मात्रै गर्ने प्रयास गरिएको आरोप लगाए । जैविक विविधताको संरक्षणका लागि मधेश प्रदेश सरकार मात्र होइन संघीय सरकारले पनि गंभीरतापूर्वक चासो दिनु पर्ने आवश्यकता उनले औंल्याए । जैविक विविधताको प्रभावकारी संरक्षणका लागि महिलाको प्रतिनिधित्व पुरुष जस्तै समान रुपमा हुनुपर्नेमा समेत वक्ताहरुले जोड दिए । प्रदेश सचिव विशाल घिमिरेको अध्यक्षतामा भएको गोष्ठीमा वन, कृषि तथा जनावरका विषयमा प्रकाश पार्दै वन विनाश रोक्नका लागि वक्ताहरुले जोडदार माग गरेका थिए ।
गोष्ठीमा जैविक विविधता संरक्षणका साथै व्यवस्थापनको अवस्था वा परिस्थितिकीय प्रणाली वा वातावरणीय सेवाबारेसमेत छलफल गरिएको थियो । कार्यक्रममा मधेश प्रदेश वन मन्त्रालयका कर्मचारीहरु,फियानका प्रतिनिधि,विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरुलगायतका सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।