
नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा संघका अध्यक्ष महेश बस्नेतले पार्टीले युवाको हातमा देशको साँचो दिइने अवधारणा ल्याउने बताएका छन् ।
शुक्रबार जनकपुरधाममा राष्ट्रिय युवा संघ धनुषा जिल्ला कमिटीका सातौँ साधारणसभामा उनले सो कुरा बताएका छन् । ‘एमालेले एउटा दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने अवधारणा ल्याउने तयारीमा छन्,’उनले भने,‘देश विकासको लागि युवाको हातमा साँचो दिनुपर्ने समय आएको छ ।’ एमालेको पुस्तान्तरण अवधारणाले ७० वर्ष नाघेका अधिकांश नेताहरुलाई सक्रियबाट विदा गर्ने उनले बताए । तर, वरिष्ठ राजनीतिज्ञको सल्लाह लिएरै देशहितमा काम गर्ने उनको भनाइ छ । ‘हामी परिवर्तन गर्ने रणनीति ल्याउँदै छौं । तीन पटक भन्दा बढी मन्त्री हुन नपाइने,चार पटक भन्दा बढी सांसद हुन नपाइने जस्ता रणनीति ल्याउछौं,’उनले भने,‘ यसकारण अब युवाले जिम्मेबार बन्नुपर्ने छ । देशको साँचो बोक्न सक्ने क्षमता बनाउनुपर्छ ।’ एमाले वर्तमान समयमा सत्ताको फोहोरी खेलबाट अहिले टाढा रहने उनले बताए । जनताको बीचमा गएर आगामी निर्वाचनबाट पहिलो शक्ति बन्ने उनको विश्वास छ ।
मधेशलगायतका क्षेत्रमा अधुरो रहेका विकासका कामकाज र अभियानलाई पुनः सुरु गरेर देशलाई समिद्धिको बाटोतर्फ लग्नुपर्ने उनले बताए । सातौं अधिवेशनले राष्ट्रिय युवा संघ धनुषाको अध्यक्षमा रोशन यादव चयन भएका छन् । उनको नेतृत्वमा रहेको संघमा उपाध्यक्ष पदमा रिता कुमारी साह, सचिवमा संजय यादव, सह–सचिवमा सुजीत शर्मा, अर्का सह–सचिवमा राजेश यादव र कोषाध्यक्ष पदमा राजेश सहनी रहेका छन् ।