अपडेट 
२०७९ चैत्र ५, आईतवार ०८:१०

धनुषाको बडहरी खोलामा २४ वर्षीय ट् याक्टर चालक पवन महतोमाथि धारिलो हतियार (छुरा) प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

मिथिला नगरपालिका –९ बडहरीका २२ वर्षीय किसन लामा, २५ वर्षीय निरज लामा र २९ वर्षीय सुशील लामालाई चालक महतोमाथि छुरा प्रहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।

शुक्रबार बिहान ४ बजे ट्याक्टर लिएर बालुवा लिन बडहरी खोला पुगेका चालकमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ । खोलाबाट बालुवा निकालेबापत चालक महतोसँग पैसा मागेको र नदिएपछि पाँच जनाको समूहमा रहेका युवाले छुरा प्रहार गरेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।

घटनामा संलग्न पाँच जनामध्ये तीन जनालाई पक्राउ गरिएको, अरू दुई जना फरार अवस्थामा रहेको बताउँदै प्रवक्ता गौतमले फरार आरोपितको खोजतलास तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए । छुरा प्रहारबाट सख्त घाइते भएका चालक महतोको उपचार जनकपुरधामस्थित जानकी हेल्थ केयरमा भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News