अपडेट 
२०७९ चैत्र ७, मंगलवार ०८:०५

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार प्राध्यापक डा.विनोद कुमार यादवले अस्पतालका काममा लापरवाही गर्ने सफाई कर्मचारीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

सोमबार प्रादेशिक अस्पताल जनकपुरधाममा आयोजित मेडिकल सामग्री हस्तान्तरण एवम् सम्मान कार्यक्रममा उनले सो चेतावनी दिएका छन् । जिम्मेवारीपूर्वक काम गर्ने कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप सम्मान प्रदान गरिएको छ भने काम नगर्ने कर्मचारीहरुलाई कारबाही गर्ने चेतावनी दिए । अहिले अस्पतालमा फोहर व्यवस्थापनमा प्राप्त सफलता सबै कर्मचारीहरुको योगदान रहेको बताउँदै उनले भने–‘गरे के हुँदैन, यहाँको प्रवृति नै छ कि चलिरहेको छ भने चल्न दिउँ, तर अब त्यस्तो हुँदैन सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु पर्छ अब त्यसरी चल्दैन ।’ अहिले राम्रो काम गर्ने सफाइ कर्मचारीहरुले प्रोत्साहन पाएका छन् भने नराम्रो गरेकोले भविष्यमा कारबाहीको भागि बन्नु पर्ने रजिष्टार डा. यादवले प्रष्ट पारे । अस्पताल परिसरमै स्वास्थ्यजन्य फोहर मैला व्यवस्थापनका लागि केन्द्र स्थापना भइसकेको जानकारी दिँदै उनले भने,‘संघीय सरकारले छिट्टै सोको लागि भवन निर्माण प्रक्रिया अगाडि बढाउने भएकोछ ।’

कार्यक्रममा प्रादेशिक अस्पताल जनकपुरधामका उपनिर्देशक डा.कृष्णदेव दासले कर्मचारीहरुले चाहेमा मात्र अस्पतालको सफाइ सम्बन्धी लक्ष्य प्राप्त हुन नसकिने बताए । दिनप्रतिदिन अस्पतालको सफाइप्रति हामी गम्भीर बन्दै गएको दाबी गर्दै उनले भने– ‘सबैको सहयोग भए अस्पतालको फोहर व्यवस्थापनलाई अझै सुधार गर्न सकिन्छ र हामी लागिपरेका छौं ।’ कार्यक्रममा प्रतिष्ठानका प्रशासन प्रमुख सन्तोष कुमार ठाकुरले अस्पतालको फोहर व्यवस्थापन ठूलो चुनौतीको रुपमा देखा परेको टिप्पणी गरे ।

कार्यक्रममा युएनडीपीका कार्यक्रम संयोजक राजेश वर्माले प्रादेशिक अस्पताल जनकपुरधामको फोहर व्यवस्थापनमा सुधार आउँदै गएको बताए । युएनडीपीको सहकार्यमा शुरु भएको फोहर व्यवस्थापनको काम दुई महिना नबित्दै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिवर्तनको बाटो खुलेको महसुस गरेको उनले बताए । कार्यक्रममा उत्कृष्ट काम गरेको १० जना सफाइ कर्मचारीहरुलाई डायरी, झोला तथा सेनिइटरजरलगायतको विभिन्न सामग्री प्रदान गरी सम्मान गरिएको थियो ।

सम्मान प्राप्त गर्ने सफाई कर्मचारीहरुमा हिरा मेस्तर, बेका मेस्तर, अशोक मेस्तर, बादल मेस्तर, बचिया मेस्तर, भोला मेस्तर, गोपाल मेस्तर, अजय मेस्तर, रामशंकर गिरी तथा मनोज मेस्तर रहेका छन् । त्यसैगरी कार्यक्रममा युएनडीपी जनकपुरधामका कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा सरसफाई व्यवस्थापनका लागि युएनडीपीले अस्पताललाई प्रदान गरेको ११ लाख बराबरको मेडिकल सामग्रीहरुको हस्तान्तरण पत्रमा हस्ताक्षर समेत गरिएको थियो । युएनडिपीले मेडिकल ट्रलीलगायतका सफाइमा उपयोगी हुने सामग्रीहरु प्रदान गरेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News