
बिहारको सीतामाढी जिल्लामा प्रहरी र मदिरा व्यवसायी बीच भएको गोली हानाहानमा एक मदिरा व्यवसायीको मृत्यु भएको छ भने तीन जना पक्राउ परेका छन् ।
सोमबार बिहान सीतामढी जिल्लाको बोखरा थाना क्षेत्रमा मदिरा ओसार पोसार हुने गरेको खवर पाएपछि प्रहरीले छापा हान्दा प्रहरीमाथि गोली फायर गर्दा प्रहरीको जवाफी कारवाहीमा एक जनाको मृत्यु भएको सीतामढी प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सीतामढी जिल्लाको बुधनगरा ग्राम पञ्चालयका सुनिल सिंहका छोरा प्रिंस सिंह रहेको सीतामढी पुलिस कप्तान हर किशोर रायले जानकारी दिए । उनले मदिराको कारोबार भइ रहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा हान्न चाहदा प्रहरीलाई हेर्ने वितिकै उनीहरुले गोली फायर गरेपछि जवाफी कारबाहीमा सिंहको मृत्यु भएको जानकारी दिए ।

प्रहरीले चलाएको गोली मृतकको छातीमा लाग्दा उनको तत्कालै मृत्यु भएको थियो । उनको मृत्यु भएको सदर अस्पताल सीतामढीले पुष्टि गरेपछि पोष्टमार्टमकालागि उनको शव अस्पतालमा राखिएको कप्तान रायले बताए । अहिले त्यो पुरा क्षेत्रमा प्रहरीले कव्जा गरेका छन् भने त्यो क्षेत्रका सर्वसाधारणहरु त्रासमय बातावरणमा बसेका छन् । मृतक सिंह विरुद्ध विभिन्न पाँच वटा थानामा आपराधिक क्रियाकलापमा संलग्न रहेको निवेदन रहेको पाइएको छ । उनी संगै विशाल सिंह नामका व्यक्तिको पनि अपराधिक गतिविधिमा संलग्नता रहेको प्रहरीको अनुमान छ । प्रहरीले घटना स्थलबाट तीन जनालाई नियन्त्रणमा लिए पनि अहिले धेरै फरार रहेको जानकारी दिएका छन् ।
भारतको बिहारमा मदिरा बिक्री वितरणमा पूर्ण प्रतिवन्ध पछि त्यहाँ मदिराको कारोबार नेपालबाट हुने गरेको प्रहरीको अनुमान छ । प्रहरीले नेपाल र बिहारको विभिन्न नाकामा कडाइ गरे पनि खुल्ला सीमा नाकाका कारण विभिन्न बाटो भएर मदिरा बिहारमा भित्र्यिाउने गरेको प्रहरीको अनुमान छ । हुनत बिहार प्रहरीले मापसे चेक जाँच गर्ने कार्यलाई तीव्रता दिए पनि नेपालको ती गाउँहरु जहाँ बिहार र नेपालका गाउँहरु एक अर्का संग नजिक रहेका छन् त्यहाँ मदिराको व्यवसाय फस्टयाएको छ ।