
एसिड पीडित आरती साहको मुद्दामा उच्च अदालतले जिल्ला अदालत धनुषाको फैसलालाई सदर गरेको छ । बुधबार उच्च अदालत जनकपुरधामका न्यायाधीश डालकुमार खड्का र सागर विष्टको संयुक्त इजलासले फैसला सदर गरेको हो ।
जिल्ला अदालत धनुषाले ०७८ भदौ १० गते अन्तिम सुनवाइ गर्दै फैसला सुनाएको थियो । आरतीका श्रीमान् सञ्जीव साहलाई साढे १० वर्ष कैद र ६ लाख जरिबाना गर्ने फैसला सुनाएको थियो भने एसिड बिक्री गर्ने व्यवसायी नागेन्द्र साहलाई सफाइ दिएको थियो । सोही फैसलाबाट चित्त नबुझेको भन्दै आरतीका भाइ सञ्जय साहले ०७८ फागुन १५ गते उच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।
आरती र उनका छोरी रियालाई श्रीमान् सञ्जीवले ०७७ कात्तिक २७ मा एसिड छ्यापेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले ०७७ मंसिर २४ मा श्रीमतीमाथि एसिड प्रहार गर्ने सञ्जीव र एसिड बेच्ने नागेन्द्रलाई समेत १५ वर्ष ६ महिना कैद र कानुनबमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने दाबी गर्दै जिल्ला अदातलतमा मुद्दा दर्ता गराएको थियो ।
यसपटक पनि सरकारी वकिल कार्यालयले सोही अनुसारको क्षतिपूर्ति र सजाय दाबी गरेका थिए ।