अपडेट 
२०७९ चैत्र ९, बिहीबार ०७:१९

रौतहटको गरुडा नगरपालिकाको झाँझपुल स्थित रहेको रौतहट ग्राण्डी हस्पिटल एण्ड आई केयर सेन्टरको चरम लापरवाहीका कारण मंगलवार राति एकजना नवजात शिशुको मृत्यु भएको छ ।

अस्पतालका डाक्टरको लापरवाहीले गर्दा उपचार गराउन गएका जिल्लाको कटहरिया नगरपालिका–१ का लक्ष्मण राय यादव र सरीता यादवकी नवजात शिशुको मृत्यु भएको छ । मंगलवार राति सुत्केरी व्यथा लागेपछि लक्ष्मण यादवले आफ्ना श्रीमती सरीता यादवलाई सुत्केरी गराउन घर नजिकै कटहरियामा रहेको सरकारी अस्पतालमा लगेका थिए । सो अस्पतालमा सरीताले सामान्य अवस्थामै छोरा जन्माएकी थिइन् । सरीताले सामान्य अवस्थामा बच्चा जन्माए पनि जन्म लिएको केही बेरमै उनको छोराको स्वास्थ्यमा समस्या देखिएको थियो । बच्चाको स्वास्थ्यमा समस्या देखिएपछि कटहरिया अस्पतालमा उपचार सम्भव नहुदा लक्ष्मण यादवले छोराको उपचार गराउन गरुडाको झाँझपुलमा रहेको रौतहट ग्राण्डी हस्पिटल एण्ड आई केयर सेन्टरमा ल्याएका थिए । तर उपचारको क्रममा अस्पतालको एन.आइ.सियु कक्षमा मंगलवार राति १० बजेको समयमा छोराको मृत्यु भएको यादवले बताए ।

सो अस्पतालका चिकित्सक र डाक्टरले उपचारमा चरम लापरवाही गरेका कारण आफ्ना छोराको ज्यान गएको पीडित परिवारले आरोप लगाएका छन् । एन.आइ.सियु कक्षमा राखेर उपचार शुरु गरेको ३ घण्टामै छोराको मृत्यु भए पनि अस्पतालका सञ्चालकले २४ घण्टाको शुल्क दिनका लागि अनावश्यक दबाब दिएको पीडित यादवले सुनाए । डाक्टरले एन.आइ.सियुको २४ घण्टाको शुल्क लिनका लागि लामो समयसम्म बच्चालाई एन.आइ.सियुमा राखेको र उपचारमा सावधानी नअपनाई लापरवाही गर्दा उपचार नपाएर छोराको मृत्यु भएको पीडित यादवको भनाइ छ । डाक्टरको लापरवाहीले छोराको मृत्यु भएको भन्दै पीडित परिवारले उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारवाही र क्षतिपूर्तिको माग गरेका छन् । अस्पतालले क्षतिपूर्ति नदिए कानूनी बाटो अपनाउने समेत पीडितले चेतावनी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News