अपडेट 
२०७९ चैत्र ११, शनिबार ०८:३७

‘पैसाको योजना बनाउनुस भविष्यको योजना बनाउनुस’ भन्ने मूलनाराका साथ नेपाल राष्ट्रबैंक जनकपुरधामले ‘ग्लोबल मनी विक’ वित्तीय साक्षरता सम्बन्धी जनचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाएको छ ।

बैंकले ग्लोबल मनी विक अन्तर्गत शुक्रबार जनकपुरधामका बैचलर अफ बिजनस एडमिनिस्ट्रेसन (वीवीए)मा अध्ययनरत विद्यार्थीहरुसंग वित्तीय साक्षरता अभिबृद्धि सम्बन्धी एकदिने छलफल कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा शाखाका कायम मुकाम निर्दशक सुजन खनालले वित्तीय स्रोत र साधनलाई प्रभावकारी व्यवस्थापन गर्ने ज्ञान र सीप हरेक नागरिकमा हुनु पर्ने बताए । राष्ट्र बैंकको एक तथ्यांक अनुसार अझै पनि ३० प्रतिशत भन्दा धेरै नागरिक बैंकिङ पहुँचमा जोडिन नसकेको बताउँदै उनले भने,‘वित्तीय साक्षरताले मानिसको दैनिक जीवन यापनमा आर्थिक व्यवस्थापन गर्न सहज हुन्छ भने भविष्य सुरक्षित हुन्छ त्यसैले देशका हरेक नागरिकमा साक्षरता आवश्यक छ।’ सानो उमेरदेखि नै, बचत गराउने, भएको पैसाको सदुपयोग गर्ने, अनावश्यक क्षेत्रमा लगानी कम गर्ने, कर्जा लिंदा कर्जाको उपयोगिताको बारेमा सिकाउने, ऋण नतिर्दाको असर, त्यसको बारेमा ज्ञान दिने, रेमिट्यान्स सही तवरले भित्रियाउने, हुण्डी भनेको गलत हो भनेर सिकाउने लगायत कुराहरु वित्तीय साक्षरतामै आधारित रहेकोले वित्तीय साक्षरताको लागि जनचेतजनामुलक कार्यक्रमलाई बैंकले निरन्तरता दिँदै आएको उल्लेख गरे । ‘हामीले विद्यार्थीहरुलाई सहभागी गराएर यसवर्षको कार्यक्रम सञ्चालन गरेका छौं । यो सिक्ने उमेर पनि हो । यो उमेरमा उनीहरुले जानेनन् भने भोलि अप्ठ्यारो पर्न सक्छ ।’

कार्यक्रममा सहभागी ४० जना वीवीएको प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई ईंगित गर्दै भने। ‘अब आउने पिँढीलाई त्यस्तो नहोस् भनेर नै यस वर्ष विद्यार्थीलाई बढी फोकस गरेका हांै । वित्तीय साक्षरता नहुँदा नै विभिन्न नागरिकहरु आर्थिक रुपमा ठगिने गरेकोले वित्तीय साक्षरतालाई विद्यार्थी जीवनदेखि नै जानकारी दिनु पर्ने आजको आवश्यकता उनले औंल्याए । जन्मदेखि मृत्यु पर्यन्त मात्र नभइ मृत्यु पश्चात पनि पैसाको काम पर्ने भएकोले आर्थिक व्यवस्थापनका निम्ति प्रत्येक नागरिकमा वित्तीय साक्षरता सम्बन्धी जनचेतना अभिबृद्धिका लागि राष्ट्र बैंकले अभियानकै रुपमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनले बताए । ‘वित्तीय साक्षरताले फजुल खर्च रोक्न,पैसाको सुरक्षा गर्न,पारदर्शिता कायम गर्न,बैंकबाटै आर्थिक कारोबार गर्नेलगायतको गतिविधिमा बृद्धि हुन्छ।’,उनले प्रष्ट पारे । ग्लोबल मनी विक यस वर्ष २०देखि २६ मार्च सम्म परेको र यस अवधिमा विश्वभरिका १ सय ७६ वटा देशमा विभिन्न कार्यक्रम गरी मनाइएको जानकारी दिँदै उनले भने,‘देशकै कुरा गर्ने हो भने विभिन्न बैंकले अलग–अलग कार्यक्रमको आयोजना गरेको छ र यसको एक मात्र उद्देश्य सर्वसाधारणमासमेत वित्तीय साक्षरता सम्बन्धी जनचेतनाको अभिबृद्धि ।’

कार्यक्रममा सहभागी ४० जना वीवीएका विद्यार्थीहरु शेयर लगानीलगायतका वित्तीय विषयबारे अनभिज्ञता जनाएका थिए । निर्देशक खनालको सभापतित्वमा भएको सो कार्यक्रममा जनकपुरधाम शाखाका उपनिर्देशक अच्युत कुमार थापा,कायममुकाम उपनिर्देशक प्रियंका ठाकुरलगायतकाले विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा जनकपुरधाम मोडेल मल्टिपल क्याम्पसका बीबीएको प्रथम वर्षमा अध्ययनरत ४० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News