प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममा मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।
शनिबार काठमाडौंमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा माओवादी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको हो । प्रचण्डले आइतबार साँझसम्म मन्त्रीमण्डल बाँडफाटका बिषयलाई टुङ्गाउने र सोमबारसम्म मन्त्रीपरिषद् विस्तार गर्ने जानकारी गराउनुभएको बैठकपछि माओवादी सचिव देवेन्द्र पौडेलले बताउनुभयो । प्रधानमन्त्रीले सवै दलसंग छलफल गर्नुभएको र आइतबार गठबन्धन बैठकमा मन्त्रीहरुको नाम प्रस्ताव हुने पौडेलले जानकारी दिनुभयो । बैठकमा संसदलाई प्रभावकारी बनाउने, संक्रमणकालीन न्यायसंग सम्बन्धी बिधेयकलाई टुङ्गाउन अन्य दलहरुसंग छलफल गर्ने निर्णय भएको उहाले बताउनुभयो ।
त्यस्तै बैठकमा सरकारलाई पार्टीसंग जाड्ने गरि जनसरोकारका बिषयलाई सम्बोधन गर्ने र प्रदेशको सरकारहरुपनि आलोपालो अनुसार तथा बजेट, नीति तथा कार्यक्रममा संघसंग जोड्नेगरि गतिशिल बनाएर अघि बढ्ने निर्णय भएको पौडेलले बताउनुभयो ।

