२०७९ चैत्र १२, आईतवार ०८:२७

जनकपुरधाम । जनकपुरधाममा बाह्य चक्रपथ (आउटर रिंगरोड) निर्माणकालागि प्रारम्भिक अनुगमन गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको संयोजनमा शनिबार शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय तथा विभिन्न वार्डका वडाध्यक्षहरुले वाह्य चक्रपथ सडक निर्माणकालागि प्रारम्भिक अनुगमन (रिकोन्जेन्स सर्वे) गरेको छ । जनकपुरधाम भिठ्ठामोड सडक खण्डको बनौली मोड पेट्रलपम्पदेखि पुरानो घाघरको बाटो हुँदै बसबिट्टीको पानी फैक्ट्री नजिक,कुर्था रेल्वे स्टेशन भन्दा पश्चिम तर्फ हुँदै बाबा पेट्रोल पम्पलाई धनुष पथमा जोड्दै बेंगाशिवपुर, थुमौना, मानसिंहपट्टी (तेतरिया बजार), कनकपट्टीदेखि पश्चिम, भोइलदेखि पश्चिम, रामपुर बहुअर्वा (बेल्ही पोखरी) हुँदै देवपुरा रुपैठाको निमचोक, बसहियाको गान्धी स्मारक मटिहानी सडक खण्ड हुँदै बनौली मोड सम्मको रिंगरोड निर्माणका लागि अनुगमन गरिएको जनकपुरधामका मेयर मनोज कुमार साहले जानकारी दिए ।



प्रारम्भिक सर्वेको क्रममा सडक बनाउँदा अधिकांश भाग चौर (खेत)मा पर्ने भएकोले केही सहज देखिएको बताउँदै मेयर साहले भने,‘ वार्ड नम्बर २१,२२ र २३का वडाअध्यक्षहरुले वस्तीलाई वाइपास गरेर आउटर रिंगरोड बनाउनु प¥यो भन्ने प्रस्ताव गर्नु भएको छ त्यस अनुसार पनि सर्वे गरिएको ठाउँ नै उपयुक्त छ तथापि अहिले प्रारम्भिक सर्वे मात्रै भएको छ कहाँदेखि बाटो खुल्ने हो यकिनका साथ अहिले भन्न सकिन्न ।’ जनकपुरधाम उपमहानगरपालिकाको लागि गौरवको योजना रहेकोले यसको लागि चालु आर्थिक वर्षको बजेट कार्यक्रममा सो चक्रपथको डीपीआर शीर्षकमा २० लाख रकम छुट्टयाईसकिएको जानकारी समेत उनले दिए । सर्वे पछि शहरी विकास तथा सडक डिभिजन कार्यालयलगायतका सरोकारवालाहरुसंग छलफल गरी अनुमानित बजेटलगायतको प्रक्रिया अगाडि बढाइने उनले बताए ।

यता शहरी विकास तथा सडक डिभिजन कार्यालय जनकपुरधामका ईन्जिनियर गौरी पण्डितले प्रारम्भिक सर्वे भए पनि अहिले एलाइन्मेन्ट कहिले गर्नेबारे समेत निश्चित नरहेको बताए । सर्वेमा अहिले भनिएको स्थानबाटै मार्ग निर्माण हुने हो भन्ने किटान गर्न नसकिने बताउँदै उनले भने,‘अहिले प्रारम्भिक सर्वे गरिएको छ यसबारे ट्रेस गरिएको मार्ग चित्र विभागमा पठाइने र उनीहरुले प्राविधिक रुपमा सोही मार्ग निश्चित गरेपछि मात्रै काम अगाडि बढ्नेछ।’ अनुमानित ५०/५५ किलोमिटरको सो रिंगरोडको चौडाइ ४० मिटर रहने देखिए पनि यसको लम्बाइ चौडाइबारे समेत किटान गरेर अहिले भन्न नसकिने ईन्जिनियर पण्डितले बताए । अहिले अनुगमन र अनुमान गरिएको ठाउँमा पुलपुलेसा पर्न सक्ने,ठूल–ठूला वृक्ष अथवा धार्मिक स्थल परेको अवस्थामा अहिले भनिएको स्थानबाट केही वरपर हुन सक्ने बताउँदै उनले भने,‘रिंगरोडलाई राउण्ड(गोलो) सेप दिनका लागि पनि स्थानमा हेरफेर हुन सक्छ।’

Comment


Related News

Latest News

Trending News