नेपाली कांग्रेसले बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस पदाधिकारीहरुको आइतबार बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले उपचुनावमा गठबन्धन विरुद्ध उम्मेदवारी नदिने बताएका छन् । बैठकमा उपचुनावको विषयमा छलफल भएको बताउँदै नेकांका सहमहामन्त्री महेन्द्र यादवले गठबन्धनको विरुद्ध कांग्रेस नजाने सभापति देउवाले प्रष्ट गर्नु भएको बताए ।‘सत्ता गठबन्धन दलहरुबीच भएको सहमति विपरीत कांग्रेसले उम्मेदवारी दिने छैन्’ सभापति देउवाको भनाई उद्घृत गर्दै सहमहामन्त्री यादवले भने, बारा–२ मा जनता समाजवादी पार्टी(जसपा) का उम्मेदवारलाई समर्थन रहनेछ । मंसिर महिनामा सम्पन्न आमनिर्वाचनमा पनि कांग्रेसले सो क्षेत्रमा उम्मेदवारी दिएको थिएन् । गबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार शिवचन्द्र कुशवाहालाई कांग्रेसले समर्थन गरेका थिए ।
जसपाका रामसहाय यादवसित कुशवाहा ४ सय बढी मतले पराजित भएका थिए । कांग्रेसको बैठकमा मधेश प्रदेश सरकारको विषयमा छलफल नभएको यादवले बताए । तर शीर्ष नेतृत्व तहमा मधेश प्रदेशमा पनि वर्तमान सत्तारुढ गठबन्धनको आधारमा सरकार गठन हुने उनले बताए ।
हाल मधेश प्रदेश सरकारमा एमाले प्रमुख घटक रहेको छ । सत्तासीन गठबन्धनबाट कांग्रेस, नेकपा एस सरकारमा जाने निश्चित छ । बारा उपचुनावमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले गठबन्धनको उम्मेदवार विरुद्ध उम्मेदवारी नदिए सरकारमा सहभागी हुन सक्ने बताइएकोछ । सत्तासीन गठबन्धनमा १० दल रहेपनि मूल गठबन्धनमा ४ दल मात्र रहेका छन् । कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको प्रमुख चार दलीय गठबन्धनले गर्ने निर्णय नै सत्तासीन गठबन्धनको निर्णय हुने गरेको छ ।उपराष्ट्रपतिको चुनावमा पनि गठबन्धनको उम्मेदवार रामसहाय यादव विरुद्ध जनमत पार्टीले उठाएको उम्मेदवार पराजित भएकी थिइन् ।
मधेश प्रदेश सरकारमा गठबन्धन फेरिदा जनमत पार्टी पनि सरकारबाट बाहिरिन सक्ने संकेत नेताहरुले दिएका छन् ।लोसपालाई सरकारमा भित्र्याएर जनमतलाई हटाउन सक्ने संभावना रहेको छ । तर पहिले एमालेलाई सरकार र सभामुखबाट हटाइने कांग्रेसका नेताहरुले जनाएका छन् । जनमतलाई सरकारमा राख्ने पक्षमा कांग्रेसका नेताहरु देखिएका छन् ।
नेपालको तनहुँ–१, चितवन–२ र बारा –२ मा वैशाख १० गते उपचुनाव हुँदैछ । तीनै निर्वाचन क्षेत्रमा चैत २० गते उम्मेदवारी दर्ता हुनेछ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँको नम्बर क्षेत्र रिक्त भएको छ ।नागरिकता अभियोगमा पदमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अध्यक्ष रवि लामिछाने पदमुक्त भएपछि चितवनको निर्वाचन क्षेत्र नम्बर–२ रिक्त भएको छ । जनता समाजवादी पार्टीका सांसद रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नम्बर २ रिक्त भएको छ । उपनिर्वाचनमा सत्तारुढ गठबन्धनले ३ वटै क्षेत्रमा साझा उम्मेदवार उठाउने निर्णय पहिले नै गरिसकेको छ । गठबन्धन बाहिर रहेका दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिने संभावना छ ।
बारा –२ मा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने भएका छन् । उनलाई कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी लगायतका दलहरुको समर्थन रहनेछ । चुनावमा स्वतन्त्र उम्मेदवार भएर ११ हजार बढी मत ल्याएका रामकिशोर यादव जसपामै फर्किसकेका छन् । सत्तासीन चार दलीय गठबन्धनको साझा उम्मेदवार जसपाका अध्यक्ष यादव रहने निर्णय अनुसार नै उपराष्ट्रपतिमा यादवलाई पठाएर क्षेत्र रिक्त गराइएको छ । चुनावी राजनीतिमा हाल बारा–२ तातिएको छ । गत हप्ता जनमत पार्टीका अध्यक्ष सीके राउतले गरेको भाषण त्यहां चर्चामा छ ।
जसपाले पनि पार्टीको आन्तरिक गतिविधिलाई तीव्र बनाएको छ ।विधान मस्यौदामाथिको छलफल कलैयामा सम्पन्न गरेर प्रदेशभरिका पार्टी, नेता कार्यकर्ताहरुलाई त्यहाँ परिचालन गरिने संकेत गरेको छ । त्यस क्षेत्रबाट उपराष्ट्रपति निर्वाचित भएका यादव र मुख्यमन्त्री बनेका सरोज कुमार यादवको सक्रियताले पनि चुनावमा जसपालाई सफलता मिल्ने गठबन्धनका नेताहरुको विश्वास छ ।

