अपडेट 
२०७९ चैत्र १४, मंगलवार ०७:०१

देशमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको बेला मधेश प्रदेशमा कोरोनाको परीक्षण गर्ने पीसीआर मेसिन बन्द भएको छ । कोरोना भाइरसको परीक्षणका लागि मधेश प्रदेशको विभिन्न प्रादेशिक तथा जिल्ला अस्पतालमा करोडौंको लगानीमा स्थापना गरिएको पीसीआर मेसिनहरु बिग्रेर नष्ट हुने अवस्थामा पुगेको छ ।

मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख डा.श्रवण मिश्रले प्रदेशको आठवटै जिल्ला स्थित अस्पतालमा स्थापना गरिएको पीसीआर टेष्ट मेसिन सञ्चालन नहुँदा बिग्रिने अवस्थामा पुगेको जनाएका छन् । जनकपुरधाममा प्रादेशिक प्रयोगशालामै चेकजाँच हुने भएकोले यहाँ बाहेक महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, पर्सा तथा बारा स्थित अस्पतालहरुमा रहेका पीसीआर ल्याब उपयोगविहीन बनेका छन् । कोरोना टेष्ट गर्न प्रयोग हुने मेसिनको मूल्य डेढ करोड बढीको हाराहारीमा रहेको छ ।

चालु आर्थिक वर्षको असारदेखि जनशक्तिको अभावमा प्रादेशिक अस्पताल जनकपुरधाम बाहेकका मेसिनहरु ठप्प छन् । दुई वर्ष अघि कोरोनाको महामारी शुरु भएपछि प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको संयोजनमा ती मेसिनहरु जिल्ला जिल्लामा स्थापना गरी कोरोना टेष्ट गर्ने गरिएको थियो । सो ल्याब सञ्चालनका लागि पाँच जनादेखि सात जना कर्मचारीहरु नियुक्त गरिएको थियो । तर गत आर्थिक वर्षको असार महिनापछि ती कर्मचारीहरुको करार अवधि समाप्त भएको छ । दक्ष जनशक्ति अभावमा शंकास्पद रोगीको समेत कोरोना टेष्ट गर्न नसकिएको सर्लाही अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट नवल किशोर झाले गुनासो पोखे । ‘प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा पटक–पटक ताकेता गर्दा पनि जनशक्तिको पदस्थापनाबारे कुनै सुनुवाइ भएको छैन’ उनले भने, जनशक्ति नहुँदा मेसिन सञ्चालन हुन सकेको छैन् ।

त्यस्तै गजेन्द्र नारायणसिंह अस्पताल राजविराजका मेसु डा. प्रकाश प्रसाद साहले कर्मचारी अभावको कारण गत असारदेखि कोरोना टेष्ट बन्द रहेको बताए । असारदेखि ल्याब बन्द हुँदा लाखौ रकमको केमिकलसमेत उपयोगविहीन बनेर नष्ट हुन थालेको उनले जनाए ।

यता सिरहा जिल्ला अस्पतालका मेसु डा.नागेन्द्र यादवले कोरोनाको उच्च जोखिम कुनै पनि बेला हुन सक्ने भएकोले पीसीआर टेष्ट नहुनु दूर्भाग्यपूर्ण रहेको बताए । कर्मचारी पूर्तिका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नहुँदा करोडौंको उपकरणहरु बिग्रिन थालेको उनले बताए ।

एन्टिजेन विधिबाट कोरोना टेष्टको प्रक्रिया जारी रहेको भए पनि कर्मचारी अभावमा पीसीआर टेष्ट हुन नसकेको गुनासो पर्सास्थित नारायणी अस्पतालका मेसु डा.चितरंजन साहले गरे । उनले भने,‘संचालनमा रहेसम्म मेसिनले राम्रै साथ दिएको थियो । अहिले बन्द भएपछि मेसिन बिग्रेको आशंका हुन थालेको छ ।

त्यसै गरी लामोसमय देखि ल्याब संचालनमा नहुँदा केमिकलहरुको म्याद गुज्रिसकेको दुखेसो बाराको कलैया अस्पतालका मेसु डा.विकास कुमार साहले पोखे । उनले भने, ‘अस्पतालका अन्य उपचारकै लागि कर्मचारीको अभाव रहेको बेला कोरोना ल्याबको लागि कर्मचारी कहाँबाट ल्याउने ।’ भारतको विभिन्न स्थानमा केही दिन यता कोरोनाको संक्रमण फैलिएको देखिएको र काठमाण्डुमा समेत कोरोनाको नयाँ रोगीहरु फेला परेको देखिएकाले मधेश प्रदेशमा पनि कोरोना महामारी कुनै पनि बेला आउन सक्ने भएकोले बन्द रहेको ल्याब तत्काल सञ्चालन हुनु पर्ने प्रादेशिक प्रयोगशाला जनकपुरधामका प्रमुख डा.मिश्रले बताए । उनले कम्तीमा तीन वटा कर्मचारी राखेर उपयोगविहीन बनेका मेसिनहरुलाई सञ्चालन गर्न सकिए राज्यको ठूलो क्षति हुनबाट जोगिने र अर्को तर्फ महामारीबाट पनि समयमै सचेत हुन सकिने बताए । कर्मचारी अभावमा करोडौँको लगानी खेर गइरहेको भन्दै मधेश प्रदेश सरकार तथा संघीय सरकारको सम्बन्धित मन्त्रालयमा पटकपटक लिखित र मौखिक ताकेता गर्दा पनि कुनै सुनुवाई नभएकोले ती मेसिनहरु बिग्रिने खतरा रहेको उनले प्रष्ट पारे ।

मधेश प्रदेशका सामाजिक विकास मन्त्री सुरिता साहले मेसिनहरु ठप्प रहेको जानकारी प्राप्त भएको बताउँदै तत्काल सञ्चालनका लागि यसै हप्ता अस्पतालका प्रमुखहरुसित बैठक गरी निर्णय लिने बताइन् ।

Comment


Related News

Latest News

Trending News