अपडेट 
२०७९ चैत्र १४, मंगलवार ०७:१२

मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक सुपर मार्केटको स्थापना हुन लागेको छ । भाटभटेनी मार्केट एण्ड स्टोर्स कम्पनी लिमिटेडले जनकपुरधाममा सुपर मार्केट निर्माण गर्न लागेको छ । २ सय करोड भन्दा माथिको लागतमा निर्माण हुने सो सुपर मार्केट भवन निर्माणको जिम्मा स्पार्क कन्सट्रक्सनलाई दिइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१४ जनकपुरधाम ढल्केवर सडक खण्डमा निर्माणाधीन सो मार्केट आगामी तीन महिना भित्रै सञ्चालनमा आउने भाटभटेनी सुपर मार्केट एण्ड स्टोर्सका क्षेत्रीय प्रमुख विनोद भट्टराईले जानकारी दिए । उनले भने,‘भवन निर्माणको काम एक महिनाभित्रै सकिएर अर्को महिनादेखि डेकोरेशनको काम अगाडि बढाइने र आगामी असार महिनासम्ममा निर्माण काम सम्पन्न भइ सञ्चालन गर्नेछौं ।’ जनकपुरधाममा निर्माण हुन लागेको सो स्टोर्स देशमै २५औं र मधेश प्रदेशमा वीरगञ्जपछिको दोश्रो स्टोर्सको रुपमा रहने बताइएको छ । आर्थिक मन्दीको समयमा सयौं करोड निर्माण कसरी भइरहेको छ भन्ने टुडेकर्मीको प्रश्नमा उनले भने,‘देशमा आर्थिक मन्दी छ तर हाम्रो कम्पनीले विगतमा राम्रो काम गरेर देखाएको छ त्यसैले बैंकहरुले सहजै ऋण दिने गरेको छ ।’व्यापारमा ऋण लगानी गर्न बैंकहरुले आनाकानी गरिरहेको गुनासो आइरहेको बेला भाटभटेनी स्टोर्स निर्माणका लागि भने दर्जनौ बैंकले करोडौ लगानी गर्न तत्परता देखाउने गरेको भट्टराईले दाबी गरे । जनकपुरधाममा निर्माणाधीन रहेको स्टोर्सको परियोजना आर्थिक तरलता आउनु केही अघिबाटै शुरु भएकोले पनि आर्थिक मन्दी भए पनि काम गर्न सजिलो भएको उनले बताए ।

भाटभटेनीको विगतको सफलता र गतिविधिकै कारण बैंकहरु ऋण लगानी गर्न स्वस्फूर्त रुपमा अग्रसरता देखाएको प्रमुख भट्टराईले बताए । “हामीले अहिले नाफा भन्दा पनि ग्राहकको सेवाका लागि स्टोर निर्माण गर्न लागेका छौं,’भट्टराईले भने । ‘अहिले बजारमा जस्तो संकट देखिएको छ, हामी पनि त्यही संकटबाट गुज्रिइरहेका छौँ,’यो संकटको बेलामा हामी व्यापारिक रुपमा अघि बढेनौ भने मुलुक झनै डरलाग्दो अवस्थामा फस्ने देखिरहेका छौँ । जस्तोसुकै संकटका बेला पनि हामी पछि हट्न हुँदैन, मिल्दैन । त्यसैले केही समस्याहरुलाई भोग्दै हामीले निर्माण कार्यलाई तीव्रता दिएका छौं।’ उनले स्पष्ट पारे । आयातीत सामान खरिद बिक्रीमा निर्भर रहेको भाटभटेनीको सुपर स्टोर्स सञ्चालनमा आएपछि जनकपुरधामका साना व्यवसायीहरु प्रत्यक्ष रुपमा प्रभावित हुने धारणा अर्थशास्त्री डा.भोगेन्द्र झाको छ । ‘उपभोक्ताले दैनिक जीवनयापनमा प्रयोग हुने सबै सामान एकै ठाउँमा पाउने भएपछि सुपर स्टोर्सको व्यवसाय फष्टाउनेछ भने साना व्यवसायीहरुको व्यवसाय प्रभावित हुने सम्भावना छ।’,उनले बताए ।

स्टोरमा करिब दुई सय जनाले प्रत्यक्ष रोजगारी पाउने प्रमुख भट्टराईले जानकारी दिदै रोजगारीमा पनि महिलालाई प्राथमिकतामा राखिने गरिएकोसमेत उनले सुनाए । हाल सम्म भाटभटेनीले ६ हजार भन्दा बढीलाई रोजगारीको अवसर दिएको बताइन्छ । सुपर मार्केटहरुले रोजगारीको दाबी गरे पनि जनकपुरधाम क्षेत्र रेमिटान्स आउने थलो रहेकाले दुई चार सयको रोजगारीको सट्टा वैदेशिक रोजगारीबाट आउने रकम सुपर मार्केटहरुमै जाने भएकोले यसले यहाँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भनेर भन्न नसकिने अर्थशास्त्री डा.सुरेन्द्र लाभले बताए । उनले भने,‘आयातमुखी अर्थतन्त्रले देशको अर्थतन्त्रमा सुधार हुँदैन यसको लागि उत्पादनमुखी व्यवसायलाई टेवा दिनुपर्छ ,बैंकहरुले पनि उत्पादनमुखी क्षेत्रमा लगानी गर्नु आजको आवश्यकता छ ।’ यता यस प्रकारको व्यवसायहरुमा आर्थिक तरलता भएको बेला ब्ल्याक मनीलाई ह्वाइट मनी बनाउनका लागि समेत पहुँचबाला नेताहरुले लगानी गर्ने व्यवसायीहरु बताउँछन् ।

Comment


Related News

Latest News

Trending News