अपडेट 
२०७९ चैत्र १४, मंगलवार ०७:१७

मधेश प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ । यही चैत्र १७ गते (शुक्रबार)देखि २९ गते सम्म हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ ।

मधेश प्रदेशको सबै परीक्षा केन्द्रमा उत्तरपुस्त्तिका र प्रश्नपत्र पुगिसकेको शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणि फुँयालले जानकारी दिए । सुरक्षाको प्रबन्ध मिलाउन पनि पत्राचार गरिसकिएको उनले बताए । उनका अनुसार यस वर्ष मधेश प्रदेशमा दुई सय ७९ परीक्षा केन्द्रबाट कुल ७९ हजार ९४ परीक्षार्थी सहभागी हुँदैछ । केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र कार्यालय सहयोगीहरु पनि चयन गरिसकिएको उनले जनाए । यी सबै कर्मचारी मिलाएर यस वर्ष मधेश प्रदेशमा सात हजार पाँच सय ७९ कर्मचारी परीक्षा केन्द्रमा खटिने छन् भने सोही संख्यामा सुरक्षा प्रबन्धको लागि प्रहरी पनि परिचालन गर्ने तयारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान प्रहरीलाई सुरक्षामा खटाइने छन् । धनुषामा सबैभन्दा बढी ४३ वटा परीक्षा केन्द्र छन् ।

धनुषामा १२ हजार एक सय ४६ परीक्षार्थी छन् । धनुषामा सुरक्षा व्यवस्थाको लागि दुई सय ८४ नेपाल प्रहरी, दुई सय २४ सशस्त्र प्रहरी र १५ जना अनुसन्धान प्रहरी खटाइने धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । सर्लाहीमा ३७ वटा परीक्षा केन्द्रबाट दश हजार ९ सय १६ विद्यार्थी, सिरहामा ४० वटा परीक्षा केन्द्रबाट दश हजार एक सय ५० विद्यार्थी र सप्तरीमा ३६ वटा परीक्षा केन्द्रबाट ९ हजार पाँच सय २७ जना विद्यार्थी परीक्षामा सहभागी हुने छन् ।

यस्तै, महोत्तरीको ३१ वटा परीक्षा केन्द्रबाट ९ हजार ५४ विद्यार्थी, रौतहटमा ३५ परीक्षा केन्द्रबाट आठ हजार ९ सय ५७ विद्यार्थी, बारामा ३२ परीक्षा केन्द्रबाट ९ हजार एक सय ७९ परीक्षार्थी र पर्साको २५ केन्द्रमा ९ हजार एक सय ६५ विद्यार्थी परीक्षा दिन लागेका छन् । प्रश्नपत्र आउट हुने विषयलाई गम्भिरता पुर्वक लिएर सुरक्षा प्रवन्ध मिलाउन सुरक्षा निकायलाई मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादवले निर्देशन दिएका छन् ।

सोमबार मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमबाटै तीनै सुरक्षा निकायलाई एसईईको बेला हुने त्रुटि बारे सचेत गराएका थिए । ‘एसईईमा कुनै प्रकारको त्रुटि हुनु भएन् । परीक्षा केन्द्रहरु मजबुत बनाउनुस्,’उनले भने,‘ मर्यादित रुपमा एसईई सफल बनाऔं ।’ परीक्षा सुरु हुनुभन्दा दश मिनेट अघि मात्रै प्रश्नपत्रको शिल खोलिनुपर्ने अन्तरक्रियामा आवाज उठेको थियो । प्रविधि प्रयोग गरी हुने गरेको चोरी रोक्न चेकजाँचमा कडाई गर्नुपर्ने सहभागीहरुले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News