
मधेश प्रदेश सरकारले प्रदेश खेलकुद सम्बन्धी विधेयक प्रदेश सभामा लैजाने तयारी गरेको छ ।
मधेश प्रदेशसभाको पहिलो कार्यकालमा पास हुन नसकेको उक्त ऐन वर्तमान प्रदेश सरकारले पुनः प्रदेशसभामा लैजाने तयारी गरेको छ । यस अघि सो विधेयक तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वको सरकारले प्रदेश सभामा लगेको थियो । तर उक्त विधेयक लामो समयदेखि प्रदेशसभामा रहे पनि पास हुन सकेको थिएन । वर्तमान मुख्यमन्त्री सरोज कुमार यादवे प्रदेशसभामा रहेको उक्त मस्यौदालाई ल्याएर पुनः मन्त्रिपरिषद्बाट स्वामित्व लिई प्रदेश सभामा पठाउने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयले जनाएको छ । करिब दुई सप्ताह अघि नै प्रदेश सरकारले मन्त्रिपरिषद्को बैठकबाट उक्त मस्यौदाको स्वामित्व लिएको थियो । अब बस्ने प्रदेशसभाको बैठकमा उक्त मस्यौदा पठाउने तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् का कार्यालयले जनाएको छ ।
यता, प्रदेश सभामुख रामचन्द्र मण्डलको मुटु सम्बन्धी समस्या देखिएकोले उनी एक सप्ताहदेखि बढी दिनदेखि काठमाण्डुमा रहेर उपचार गराइरहेका छन् । सभामुख मण्डलको स्वास्थ्य उपचार पश्चात बस्ने प्रदेशसभाको बैठकमा उक्त विधेयक प्रदेशसभामा पठाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् का कार्यालयले जनाएको छ ।