अपडेट 
२०७९ चैत्र १५, बुधबार ०७:२६

वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने वीरगञ्जका पाँच वटा उद्योगलाई कारबाही गरेको छ ।

नदी प्रदूषण गर्ने उद्योगहरुलाई महानगरपालिकाले कारबाही गर्दै १५ लाख रुपैयाँ जरिवाना गरेको छ । जरिवानासहितको पत्र सम्बन्धित उद्योगहरुमा पठाइसकिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले वीरगञ्ज– पथलैया औद्योगिक कोरिडोरमा रहेका पाँच वटा उद्योगलाई जनही ३/३ लाखका दरले १५ लाख रुपैयाँ जरिवाना गरेकोछ । वडा नम्बर २१ स्थित ग्लोबल लेदर उद्योग प्रालि , अर्निका प्रोसेसिङ उद्योग प्रालि , श्रीसिद्धी टेक्सटायल्स प्रालि , मोरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२स्थित दुर्गा पुल्प एण्ड पेपर प्रालिलाई ३÷३ लाख रुपैयाँ जरिवाना गरी कारबाही गरेको पत्रमा उल्लेख छ । नदी प्रदूषण नगर्न पटक–पटक ताकेता गर्दा पनि सुनुवाइ नगरेपछि महानगरपालिका उद्योगहरुलाई कारबाही गर्न पत्राचार गरेको छ ।

मंगलबार पठाइएको पत्रमा ७ दिनभित्र तोकिएको जरिवाना रकम बुझाउन निर्देशन दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताइन् । ७ दिनभित्र जरिवाना बापतको रकम नबुझाएमा प्रचलित कानून अनुसार ती उद्योगहरु विरुद्ध थप कारबाहीको प्रक्रिया अगाडि बढाइने जनाइएको छ । वीरगञ्ज महानगरपालिकाको वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ को दफा ३७ अनुसार नदि प्रदूषित गर्ने ५ उद्योगहरुलाई कारबाही स्वरुप जरिवाना गरिएको पौडेलले जानकारी दिइन् । यसअघि महानगगरले गत फागुन १६ गते उद्योगहरुबाट निस्केको छाई सिर्सिया नदीमा फाल्ने ३ वटा ट्याक्टरलाई पनि नियन्त्रणमा लिएर १÷१ हजार रुपैयाँ जरिवाना गरी कारबाही गरेको थियो । करिब तीन दशकदेखि प्रदूषणको चपेटामा परेको वीरगञ्ज शहरको लाइफलाइनकै रुपमा रहेको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन महानगरपालिकाले विगत दुई महिना यतादेखि अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत नै महानगरले उपमेयरको संयोजकत्वमा गठन गरेको सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले पटक–पटक अनुगमन गरी चेतावनी दिँदै आएको थियो । अनुगमनका क्रममा नदी किनारमा रहेका उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर ( रसायनयुक्त फोहोर पानी, छालाको लेदो, कोइलाको छाई लगायतका वस्तु ) सिधै नदीमा फाल्दै आएको भेटिएको थियो । त्यसपछि फागुन ३ मा बसेको समितिको बैठकले नदी प्रदूषण गर्ने उद्योगहरुलाई कारबाही गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार महानगरले अहिले जरिवानामा परेका तीनै ५ उद्योगलाई पत्र पठाएर नदि प्रदूषण नगर्न चेतावनी पनि दिएको थियो । प्रदूषण नियन्त्रण अभियान जारी रहने महानगरका प्रमुख राजेश मान सिंहले जानकारी दिएका छन् ।

अहिले अनुगमन जारी रहने र नदीलाई प्रदूषित बनाउने अन्य उद्योग र निकायलाई पनि यस्तै प्रकारको कारबाही गरिने उनले प्रष्ट पारे । बाराको सिमरा भन्दा पश्चिममा पर्ने रामवनस्थित वनबाट बग्न शुरु गरेको र्सिसिया नदी पर्साको वीरगन्ज शहर हुदै भारतको रक्सौल सम्म पुगेको छ । औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटायल, घ्यू, साबुन लगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदो लगायतका विकारहरू नदीमा मिसिदा दुर्गन्धित बनेको छ । नदीको प्रदूषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगरपालिकाको रामवन, रामगढवा, विन्दवासिनी, रानीघाट, अशोकवाटिका, छपकैया सहित करिब एक दर्जन बढी गाउँ र टोलका बासिन्दा प्रभावित हुँदै आएका छन् ।

Comment


Related News