अपडेट 
२०७९ चैत्र १५, बुधबार ११:३२

मधेश प्रदेश सरकारले मिटरब्याज पीडितलाई आफ्नो समर्थन रहेको जनाएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार बिहान एक विज्ञप्ती जारी गर्दै मिटरब्याज पीडितको हरेक पाइलामा आफ्नो मसर्थन रहेको बताएका हुन् ।

“मधेशबाट उठेपनि यो समस्या देशकै हो । एकातिर बैंकले ऋण नदिने, अनेक अड्चन खडा गर्ने, दिएपनि चर्को ब्याज लगाउने अर्कोतिर मजबुरीको फाइदा उठाई गाउँघरका कतिपय साहुकारहरुमा अत्याचार नै गर्ने द्रव्य पिचाशी प्रवृति देखिएको छ । शोषणविरुद्ध केन्द्र, राष्ट्र बैंक तथा प्रदेश समेतले मिलेर संयुक्तरुपमा काम गर्न, विशेष अधिकार सम्पन्न शक्तिशाली आयोग खडा गर्न जरुरी छ । जनताले न्याय मागिरहेका छन्, न्याय पाउनुपर्दछ । बैंकले बाटो खोल्नुपर्छ । आम जनतामा सहज र सुलभ रुपमा ऋण प्रवाह हुनुपर्दछ । ”– जारी विज्ञप्तिमा उल्लेख छ ।

यसै सन्दर्भमा केन्द्र सरकारले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन गरेको पहलको हामी स्वागत गरेको उल्लेख गरिएको छ । विदेश जान वा अध्ययन गर्न वा अन्य भैपरि गर्जो टार्न ऋण खोज्ने नागरिकहरुलाई मिटरब्याजीहरुबाट बचाउँदै के कसरी सहयोग र सहकार्य गर्न सकिन्छ यसबारे ठोस गृहकार्य गरी ठोस नीति बनाउन जरुरी औँल्याएका छन् ।

ठूलो वेदना बोकेर काठमाण्डौ पुगेका मिटरब्याज पीडितहरुको हरेक पाइलामा सरकारको साथ, आंसुको हरेक थोपामा मधेश सरकारको पनि सरोकार र दायित्व रहेको प्रष्टयाएका हुन् ।

सन्देशमा –हामी जिम्मेवारीबाट भाग्न सक्दैनौ, भाग्दैनौ पनि तथापि यो प्रदेशको मात्र समस्या होइन् । प्रदेशबाट उठेको देशको समस्या हो । गरिब झन गरिब हुने, भएको सम्पतिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्त रुपमा लड्न म मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिंतक, योजना विद्, विज्ञहरुलाई आव्हान गर्दछु ।”– उल्लेख छ ।

 

Comment

Related News