अपडेट 
२०७९ चैत्र १६, बिहीबार ०७:२१

मधेश प्रदेश सरकारको गोदाममा झण्डै ५ हजार नयाँ साइकल थुप्रेको छ । सरकारको सर्वाधिक लोकप्रिय र विवादास्पद बनेको बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत छात्राहरुका लागि खरिद गरिएको साइकल अलपत्र परेका छन् । साइकल वितरण रोकिएपछि छात्राहरुको विद्यालय निरन्तरतामा असर परेको छ । सामुदायिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई मधेश प्रदेश सरकारले उपलब्ध गराउँदै आएको साइकल वितरण गत आर्थिक वर्षदेखि बन्द भएको छ ।

साइकल खरिद प्रक्रिया नै त्रुटिपूर्ण देखिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी मुद्दा चलाएको अवस्था रहेको कर्मचारीहरु बताउँछन् । मधेश भवन भित्र रहेको गोदाममा साइकल बन्द गरी राखिएको छ । तर त्यो साइकल प्रदेश सरकारले बुझिसकेको छैन् । प्रदेश सरकारको गोदाममा रहे पनि कागजमा प्रदेश सरकारको साइकल होइन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नुरहरी खतिवडाले थन्किएको साइकलको विषयमा हाल कुनै निर्णय हुने अवस्था नरहेको बताए । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसको छानबिन प्रक्रियालाई टुंग्याएको छैन्’ उनले भने, साइकलको भुक्तानी र वितरण भन्दा खरिद प्रक्रियामा नै त्रुटि देखिएको छ । कर्मचारीले साइकल बुझेर भुक्तानीको प्रक्रिया अगाडि बढाउन सक्ने अवस्था नरहेको उनले बताए । साइकल वितरण नहुँदा विद्यालयहरुमा प्रभाव परेको देखिन्छ । विद्यालयमा छात्राको निरन्तरतामा कमी आउन थालेको त्रिभुवन आदर्श माध्यमिक विद्यालय बिन्धीका प्रधानाध्यापक देवेन्द्र कुमार यादवले बताए ।

कारबाहीको प्रक्रिया नटुंगिएसम्म सरकारले निर्णय लिन सहज नरहेको मधेश प्रदेशका सीएम सरोज कुमार यादवले बताए । ‘अख्तियारको कारबाही फुकुवा हुनासाथ साइकल वितरणको प्रक्रिया अगाडि बढनेछ’ उनले भने, तर अहिले साइकलको मूल्यांकन गर्ने समितिले नै काम गरिरहेको छ । अख्तियारले कारबाही गरिसकेको कारण कुनै कर्मचारी साइकललाई छुन चाहँदैनन् । तर निवर्तमान सीएम लालबाबु राउतले साइकल आपूर्तिकर्तालाई भुक्तानी गरी विद्यालयमा वितरण गर्न कुनै समस्या नरहेको बताए । ‘अत्यन्त सस्तो दरमा गुणस्तरीय साइकल ठेकेदारले उपलब्ध गराएका छन्’ राउतले भने, ठेकेदारलाई भुक्तानी गर्न सबै बाटो खुलिसकेकाले ढिलाइ गर्न हुँदैन् । अख्तियार र अदालतले समेत भुक्तानी गर्न पत्र पठाइसकेको उल्लेख गर्दै निवर्तमान सीएम राउतले अनावश्यक अड्चन गर्न नहुने बताए ।

Comment


Related News

Latest News

Trending News