अपडेट 
२०७९ चैत्र १६, बिहीबार ०७:२८

बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को उपचुनावका लागि जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको एकल सिफारिस भएको छ ।

बुधबार भएको बारा–२ को वृहत् क्षेत्रीय भेलाले उनको नाम एकल सिफारिस गरेको छ । बैठकबाट नाम सिफारिस भएपछि औपचारिक रुपमा पार्टीको विधान अनुसार उम्मेदवारीको प्रक्रिया अगाडि बढेको छ । क्षेत्रीय समितिले गरेको सिफारिसलाई जिल्ला र प्रदेश समितिले अनुमोदन गरेपछि कार्यकारिणी समितिले निर्णय गर्नेछ । बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, प्रदेश अध्यक्ष रामबाबु यादव लगायतका नेताहरुको सहभागिता थियो । अध्यक्ष यादवको उम्मेदवारी सिफारिसले क्षेत्रका मतदाताहरुमा भारी उत्साह देखिएको प्रदेशका मुख्यमन्त्री यादवले दाबी गरे । ‘बारा जिल्लाबाट मधेशका मसिहा जसपाका राष्ट्रिय अध्यक्ष उम्मेदवार हुनु ठूलो उपलब्धि हो’ उनले भने, यहाँका मतदाताहरुमा त्यसले भारी उत्साह देखिएको छ । जसपाको विधान अनुसार उम्मेदवारको नाम क्षेत्रीय समितिबाट सिफारिस हुने र केन्द्रीय कार्यकारिणी समितिले अन्तिम निर्णय गर्नेछ ।

प्रतिनिधि सभाका लागि उम्मेदवारमा एकल नाम सिफारिस भएपछि जिल्ला, प्रदेश हुँदै कार्यकारिणी समितिबाट समेत अनुमोदन हुने जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवले जनाए । बारा–२ बाट प्रतिनिधि सभामा निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपचुनाव हुन लागेको छ । चैत २० गते उम्मेदवारी दर्ता हुने र वैशाख १० गते मतदान हुने कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । जसपाका राष्ट्रिय अध्यक्ष यादव चुनाव लड्ने भएपछि बारा २ अहिले राष्ट्रिय स्तरमा चर्चा पाएको छ । सत्तासीन गठबन्धन दलले यादवलाई साझा उम्मेदवार बनाउने निश्चित छ । नेपाली कांग्रेसले बारा–२ मा गठबन्धन विरुद्ध उम्मेदवारी नदिने घोषणा गरिसकेको छ । माओवादी केन्द्र र नेकपा एसले पनि सो क्षेत्रमा उम्मेदवार उठाउने छैन् । माओवादीले टिकट नदिने भएपछि नेता शिवचन्द्र कुशवाहा पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका छन् ।

सत्ता गठबन्धनमा रहेका जनमत पार्टीले शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाउने पक्का भएको छ । कुशवाहाले बुधबार काठमाण्डुमा पत्रकार सम्मेलन गरी जनमत पार्टीमा प्रवेश गरेको घोषणा गरे । उनलाई पार्टीमा प्रवेश गराएसँगै टिकटको सुनिश्चित भएको अनुमान गरिएको छ । मंसिर ४ गते सम्पन्न भएको आमनिर्वाचनमा कुशवाहा तत्कालीन कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट उम्मेदवार बनेका थिए । उनी जसपाका रामसहाय यादव सित ४ सय मतको झिनो अन्तरले पराजित भएका थिए । निर्वाचित भएका यादवले १३ हजार ८ सय र कुशवाहाले १३ हजार ४ सय मत प्राप्त गरेका थिए । जनमत पार्टीका तत्कालीन उम्मेदवारले ३ हजारको हाराहारीमा मत पाएका थिए । कुशवाहालाई यादव इतरको मत तान्न सक्ने क्षमतावान नेताको रुपमा जनमतले मूल्यांकन गरेको छ ।

जनमतका नेताहरुका अनुसार यादवको मत विभाजन हुने र इतरका मत कुशवाहाले सहजै तान्न सक्ने छन् । तनहुँको निर्वाचन क्षेत्र नम्बर १ र चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा पनि सोही दिन उपचुनाव हुँदैछ । तर सर्वाधिक चर्चामा बाराको निर्वाचन क्षेत्र नम्बर २ नै रहेको छ । सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट पराजित भएका जसपाका राष्ट्रिय अध्यक्ष यादवलाई सत्तासीन गठबन्धनले उम्मेदवार बनाएपछि त्यसमा रहेका जनमत पार्टी अलगै उम्मेदवारी दिने तयारी गरेको छ । गठबन्धनबाट नै उपराष्ट्रपतिमा जसपाले उम्मेदवार उठाएका रामसहाय यादव विरुद्ध जनमतले ममता झालाई उम्मेदवार बनाएका थिए । तर उनी भारी मतले पराजित भइन् ।

जनमत पार्टीले फेरि यादव विरुद्ध कुशवाहालाई उम्मेदवार बनाएर गठबन्धनको निर्णय विपरीत अगाडि बढेको छ । जनमतका अध्यक्ष सीके राउतले यादवलाई हरेक हालतमा पराजित गराउने कसरत गरिरहेका छन् । तर यादवलाई गठबन्धनका ठूला दलहरुको समर्थन प्राप्त रहेकाले राउतको कसरतले काम गर्ने संभावना कमजोर रहेको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News