अपडेट 
२०७९ चैत्र १६, बिहीबार ०७:५२

नेपालको लोकतान्त्रिक आन्दोलनका एक अविस्मरणीय योद्धाको नाँउ हो मथुरा प्रसाद उपाध्याय । नेपालको एकतन्त्रीय जहानियाँ राणा शासनको विरोध देखि बि.स. २०४६ सालको ऐतिहासिक जनअन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नु भएका अथक योद्धा मथुरा काकाको बारेमा दुई शब्द लेख्न पाउँदा मँ आफूलाई कृत–कृत्य ठानेको छुँ।

तत्कालीन महोत्तरी प्रगणा हाल महोत्तरी जिल्लाको मनरा गाउँ निवासी एक जमिनदार परिवारका पिता टंक नाथ उपाध्यायका कान्छी श्रीमतीको गर्भबाट चौथो पुत्र रत्नको रुपमा वि.स. १९८५ सालको भाद्र महिनाको ५ गतेमा जन्मिनु भएका मथुरा प्रसाद उपाध्याय कुनै पनि परिस्थितिमा निरंकुश राणा र एकतन्त्रीय पञ्चायती शासकका अगाडि घुडा टेकेनन र त आज प्रजातन्त्र सेनानी मथुरा प्रसाद उपाध्यायको लगनशिलता , कर्तव्यनिष्ठा,जुझारुपना र संघर्षको आजका लोकतान्त्रिकवादीहरुका माझमा चर्चाका पात्र हुनुहुन्छ वहाँ । इतिहासका पानाका ओझेलका पात्रका रूपमा रहनु भएका सादा जीवन र उच्च विचारका धनी वहाँको सानिध्यमा मँ पंक्तिकार हाई स्कुलमा पढ्दा नाँउ सुनेको र अनुहारले चिन्हेका भए पनि मैट्रीक पास भए पश्चात् मात्र म वहाँको सानिध्यमा आए र परिचय भयो । हुन त जनकपुरधाम उप महानगर पालिकाको वाड न.११ लक्ष्मण अखाडा टोलमा मूलरूपमा निवास गर्दै आउनु भएका मथुरा काका दिनहुँ जानकी मंदिर र राम मंदिर दर्शन गरेर फर्किँदा मेरो घर भएरै जाने क्रममा हाम्रो प्रायः जसो जम्का भेट हुन्थ्यो र पार्टी र लोकतन्त्रका बारेमा हाम्रो परिचर्चा भइ रहन्थ्यो ।

पातलो अग्लो गहुँ गोरो शरीरका धनी वहाँ जहिले पनि छाता वा लठ्ठी बोक्नु हुन्थ्यो । घर फर्किदा जहिले पनि मेरो घरको अगाडि एक छिन ठङ उभिएर ए–भरत ! भनेर आवाज नलगाई अगाडि बढनुहुन्नथेन । प्रजातन्त्र प्रति आजीवन आस्थावान वहाँ समाज सेवा र धर्म–साँस्कृति , गुठी पाटी पौवाहरुको संरक्षण र सम्बद्र्धन प्रति त्यतिकै जागरुक हुनुहुन्थ्यो र त राम मन्दिरको जिर्णोद्धार र गुठिको श्रीसम्पतिको संरक्षण , जनकपुरका ऐतिहासिक , पौराणिक एंव साँस्कृतिक महत्वका ताल–तलैया तथा पोखरीहरुको अतिक्रमण मुक्त गराउन वहाँले “धार्मिक कार्य संरक्षण तथा विकास संस्था “ भन्ने एउटा कमिटी नै गठन गरी जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता गराएर सक्रीय रुपमा लाग्नु भएको थियो । उक्त संस्थाका अध्यक्षमा मथुरा प्रसाद उपाध्याय वहाँ स्वंय र उपाध्यक्षमा राम नरेश साह , सचिवमा अ.श्याम किशोर मल्लिक ,कोषाध्यक्षमा जयनाथ साह थिए भने सदस्यहरुमा पं. शियाराम झा, रोहिणी बल्लभ शर्मा , केदार साह , भोलानाथ झा , गंगाराम यादव , भोला साह र रंजित साह रहेका थिए । वहाँ राजनीतिक, धार्मिक साँस्कृतिक क्षेत्रमा लगावको साथै शैक्षिक क्षेत्रमा पनि त्यतिकै योगदान पु¥याउनु भएको थियो । २०४६ सालको आन्दोलनको सफलता पश्चात् नै जनकपुरधाम वड न.७ जानकी नगरमा श्री राम जानकी विद्यालय र वडा न.११ लक्ष्मण अखाडामा श्री जनता प्राथमिक विधालय वहाँले आफै नेतृत्व गर्दै जानकी नगर एंव लक्ष्मण अखाडाका समाजको सहयोग लिएर सञ्चालन गराउनमा महत्वपूर्ण योगदान गर्नु भएको थियो ।

राम मन्दिरको दक्षिणी भागमा रहेको सन्त निवास वहाँकै सक्रियतामा निर्माण भएको भन्नुमा कुनै दुई मत न होला । मैले वि.स. २०३४ सालमा मैट्रीक पास गर्दा नै वहाँको सानिध्यमा आएको थिए र वहाँकै निर्देशनमा गठित राम मन्दिर जिर्णोद्धार समितिमा म राम भरत साह, दामोदर प्रसाद उपाध्याय , कृष्ण गिरि, राधा चौधरी , दिना सरार्फ ,विश्वनाथ साह लगायत जनकपुरका तात्कालीन गणमान्य व्यक्तिहरुको साथ लिइ वहाँले कार्य गर्नु भएको अनुभव अहिले पनि आलै छ । त्यसैले त जनकपुरको मठ–मन्दिर , ताल तलैया, पोखरी तथा पुरातात्त्विक धरोहरहरुको बारेमा जानकारी वहाँ सँग पर्याप्त रहेको हुँदा बाहिरबाट आउने अध्यनकर्तालाई समेत सहयोग प्राप्त हुन्थ्यो । बि.स.२००३ सालमा नेपाली राष्ट्रिय काँग्रेसको विधिवत् सदस्यता ग्रहण पश्चात् मृत्युशैय्यामा पुगुन्जेलसम्म वहाँ न त कांग्रेस छाड्नु भो र न त लोकतन्त्र। त्यसैले त यस्ता महान योद्धालाई आजका पुस्ताले लोकतन्त्रका संवाहक “बरदपुत्रका“ रुपमा स्मरण गर्दै लोकतान्त्रिक आन्दोलनका महान योद्धा भनेर चिन्दछन। राणा , प्रजातन्त्र , पञ्चायत र जीवनको उतरार्धमा लोकतन्त्रको पुनस्र्थापना विकट संघर्षमा होमिनु भएका मथुरा प्रसाद उपाध्यायले अन्ततोगत्वा लोकतन्त्रको स्थापना गरेरै वि.स. २०५३ सालको चैत्र महिनाको १६ गते कृष्ण पक्षको पञ्चमी तिथिको पुनित घडीमा शरीर त्याग गर्नु भइ हामीलाई टुहुरो बनाएर जानु भयो । हुनत आफ्नो जीवन कालमा वहाँ पार्टी र सरकारबाट खासै अपेक्षा राख्नु नभएका “ काम करते जाओ, फल कि आशा न करो“ कृष्णको यस उक्तिलाई वरण गरि लोकतन्त्र प्रतिको आस्था कायम राख्नु भएका मथुरा प्रसाद उपाध्याय नेपाली काँग्रेस जनकपुर नगर समितिको वि.स.२०२८ साल देखि २०३९ साल सम्मको प्रथम अध्यक्ष भइ सफतापूर्वक कार्यकाल सम्पन्न गर्नु भएका वहाँ २००७ को राणा विरोधी आन्दोलन , नेकाँको २००९ सालमा जनकपुरमा सम्पन्न पाँचौ महाधिवेशन प्रतिनिधि एंव महाधिवेशन तयारी एंव व्यवस्थापन समितिका सदस्य , खरे बटैया बैठ बेगार जस्ता समाजिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका ,२०११ सालको सत्याग्रह होउन वा २०१४ सालको अभद्र अवज्ञा आन्दोलनमा वहाँको भूमिका देखि लिएर वि.स.२०१५ सालमा सम्पन्न प्रथम आम निर्वाचनमा पार्टीको पक्षमा वहाँको भूमिका सराहनीय मात्र नभइ अविस्मरणीय रहेको छ ।

वि.स. २०१७ सालको “सैनिक कु“ पश्चात् पुनः प्रजातन्त्रको पक्षमा वहाँको सक्रियता पटना सम्मेलनमा सहभागिता , २०१९ देखि सुरसण्ड कैम्प संचालनमा वहाँको भूमिकाको पुराना काँग्रेसीहरु आज पनि याद गर्दछन। साढे सात वर्षको निर्वासन पश्चात् वि.स. २०२५ सालमा आममाफी पश्चात् स्वदेश फिर्ता, २०३२–२०३६ सालको आन्दोलनमा नयाँ जोश , नयाँ उमंगका साथ सकृय भुमिकाका साथै जनमत संग्रहमा नेतृत्वदायी भूमिका पश्चात् विभिन्न कालखण्डमा जेल –नेल – यातना–निर्वासनबाट थलिएका शरीर लिइ वि.स.२०४० सालमा उपचारका निमित्त दिल्ली प्रस्थान , २०४२ सालको सत्याग्रहमा सहभागिता, २०४६ सालको ऐतिहासिक जन– आन्दोलनबाट प्राप्त लोकतान्त्रिक निर्वाचन २०४८ सालमा वहाँको योगदानको जति चर्चा गरे पनि कमै होला। वहाँ लोकतान्त्रिक आन्दोलनका योद्धाहरु कृष्ण प्रसाद भट्टराई , इन्द्र बहादुर मल्ल , रघुनन्दन यादव , रामहरि जोशी , महावीर ठाकुर , बच्चा झा,रुद्र प्रसाद गिरि, बोध प्रसाद उपाध्याय , महेन्द्र नारायण निधि, बलराम नायक ,सरयुग चौधरी , निर्गुण यादव , सरोज प्रसाद कोइराला , भिष्मजङ्ग केसि , ठाकुर प्रसाद ढुंगाना , दिगम्बर झा, राम नारायण मिश्र , बेनी माधव सिंह, मकेश्वर प्रसाद सिंह , नागेश्वर झा , रामचन्द्र मिश्र , सिया ठाकुर , कृष्ण देब सिंह, सुवर्ण शमशेर देवनारायण झा लगायतका सयौं नेता तथा कार्यकर्ताहरुसंग मिलि लोकतन्त्रका निमित्त काम गर्दै जाँदा विभिन्न किसिमका यातना ,जेल–नेल ,प्रवास र उठिवास सम्मको पीडा भोग्दै र नेपाली कांग्रेसको २००३ सालदेखि २०४६ सालको प्रत्येक आन्दोलन होउन् वा पार्टीको जिल्ला देखि केन्द्रीय नेपालको विभिन्न भागमा देखि सुरसण्ड काण्ड, बैरागानियाँं सम्मेलन देखि पटना र कलकत्तामा सम्पन्न महाधिवेशन सम्मेलनमा सक्रिय सहभागिताका साथ सक्रिय भूमिका निर्वाह गर्न कहिल्यै पछी पर्नु भएन भने एउटा अथक योद्धाको भूमिकाबाट समेत कहिल्यै पन्छिनु भएन।

यस्ता महान क्रान्तिकारी योद्धालाई शब्द श्रद्धाञ्जली जति अर्पण गरे पनि कमै होला । हामीले यस्ता योद्धाहरुको कार्यशैलीबाट केही सिक्नुपर्ने आवश्यकता छ । र त म आज जुन मुकाममा छु । वहाँहरुकै प्रेरणा र निर्देशनको प्रभावबाट छुँ । अन्त्यमा सत सत नमन छ । यी “ क्रान्तिकारी “ योद्धा मथुरा प्रसाद उपाध्यायलाई । इति

Comment


Related News