अपडेट 
२०७९ चैत्र १६, बिहीबार ०७:५८

सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलमा एक महिलाले बीमाको रकम हात पार्न आफ्नै श्रीमानको हत्या गरेको तथ्य खुलेको छ ।

ईलाका प्रहरी कार्यालय कञ्चनपुरले बुधवार पत्रकार सम्मेलन गर्दै सो घटनाबारे जानकारी गराएको छ । स्थानीय कोशिलादेवी दासले आफ्नी देउरानी हिरनदेवी दास र नातामा भाउजु पर्ने शान्तिदेवी दासको सहयोगमा ३७ वर्षीय शिवशंकर दासको हत्या गरेको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार गत कात्तिक ६ गते समयमा आफ्नै घरभित्र करेन्ट लगाएर शिवशंकरको हत्या भएको थियो । पाँच महिनाको अनुसन्धानपछि शिव शंकरको करेण्ट लागेर नभइ करेण्ट लगाएर हत्या गरिएको तथ्य खुलेको प्रहरी नायव उपरीक्षक रायले बताए । ‘नियन्त्रणमा लिइएका मृतक शिव शंकरकी श्रीमती कोशिलादेवी, भाइ बुहारी हिरनदेवी र नातामा भाउजु पर्ने शान्तीदेवीले दिएको बयानअनुसार ऋणको रकम चुक्ता गर्न सो घटना घटाएको देखिन्छ’ उनले भने, ‘ शिव शंकर र कोशिलादेवीले छोरीको विवाह गर्न र बीमा गराउनका लागि भाउजु नाता पर्ने शान्तीदेवीसँग ऋण लिएको थियो, ऋण चुक्ता गर्न शान्तीदेवीले कोशिला र शिवशंकरलाई तनाव दिँदै आएकी थिइन् । ’शिवशंकर र कोशिलादेवीले ऋण तिर्न असमर्थता देखाउन थालेपछि शान्तीदेवीले नै शिवशंकरको हत्या गर्न सुझाएको तथा हत्यापछि आउने बीमा रकमबाट ऋण चुक्ता भएर अरु रकम बाँकी समेत रहने भन्दै योजना तयार पारेकी थिइन् ।

योजनाअनुसार शान्तीदेवीले कात्तिक ५ गते शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाएर घरतर्फ पठाएकी थिइन् । मातेर घर पुगेका शिवशंकर भान्सा कोठामै सुतेपछि सुतेकै बेला कोशिलादेवीले शिवशंकरको देब्रे हातको साहिँली औंलामा तार बेरेर करेन्ट लगाइ हत्या गरेको बयान दिएकी प्रहरी नायव उपरीक्षक रायले बताए । करेण्ट लगाउने कार्यमा हिरणदेवीले सहयोग गरेको थिइन् । हत्यापछि कोशिलादेवीले नै आफ्नो पति शिवशंकरको करेन्ट लागेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेपछि शंकाका आधारमा अनुसन्धान अघि बढाइएको थियो । सोही क्रममा तीनै जनालाई नियन्त्रणमा लिइएको थियो भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News