अपडेट 
२०७९ चैत्र १७, शुक्रबार ०७:५४

बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोलेपनि उम्मेदवारी दिने भएका छन् । नेता महतोका ज्वाई अनिल महासेठले जनाए अनुसार चुनावको तयारी थालिएको छ । ‘चुनावको तयारी शुरु भइसकेको छ’ उनले भने, चुनावका लागि नेता र कार्यकर्ताहरु जुटिसकेका छन् । बारा–२ बाट उनी चुनावमा उठ्ने अनुमान पहिले नै गरिएको थियो ।

जनता समाजवादी पार्टी(जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सो क्षेत्रबाट चुनाव लडने पहिलेदेखि नै तयारी गरिएको थियो । जसपा बारा प्रदेश समितिको बुधबार भएको बृहत्त भेलाले बारा–२ बाट चुनाव लडन यादवको एकल नाम सिफारिस गरेको हो । यादवको नाम सिफारिसका लागि जसपाको बैठक बारामा चलिरहेको बेला काठमाण्डुमा माओवादी केन्द्र छाडेर शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरिरहेका थिए । जनमत पार्टीले कुशवाहालाई उम्मेदवार बनाउने भएको छ । यादव र कुशवाहा चुनाव लड्ने निश्चित भइसकेको २४ घण्टा नबित्दै लोसपाका वरिष्ठ नेता महतो पनि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।

मंसिरमा सम्पन्न आमनिर्वाचनमा महतो सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट पराजित भएका थिए । उनलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र यादवले झण्डै २ हजार मतान्तरले पराजित गरेका हुन् । त्यस अघि महतो धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरी निर्वाचित भएका थिए ।

बारा–२ मा गत चुनावमा लोसपाले माओवादीका उम्मेदवार कुशवाहालाई समर्थन गरेका थिए । लोसपाको संगठन बलियो नभए पनि हाल सम्म देखिएको त्रिपक्षीय भिडन्तमा महतोपनि सहभागी हुने भएका छन् । जसपाका अध्यक्ष यादव सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा गत आमनिर्वाचनमा पराजित भएका थिए । सत्ता गठबन्धनमा सँगै रहेका महतो र कुशवाहाले उम्मेदवारी दिने भएपछि गठबन्धनबाट नै ३ उम्मेदवार हुने भएका छन् । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी(र ास्वपा)ले पनि उम्मेदवारी दिने बताएका छन् । तर एमाले र रास्वपाले हाल सम्म उम्मेदवारकै खोजीमा रहेका छन् ।बारा–२ चुनावका लागि इञ्चार्ज तोकिएका रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले पदबाट राजीनामा दिएका छन् ।

हालको समीकरण अनुसार जसपाका उम्मेदवार यादवको पक्षमा अत्यधिक मत रहेको छ । जसपाबाट निर्वाचित भएका रामसहाय यादवले पाएका १३ हजार ८ सय मत र जसपाका विद्रोही बनेका उम्मेदवार रामकिशोर यादवले पाएका ११ हजार ५ सय मत पाएका थिए । उनी जसपामा नै फर्किसकेका छन् । माओवादीबाट उम्मेदवारी दिएका कुशवाहालाई कांग्रेस, नेकपा एस र लोसपाको समर्थन रहेको थियो । त्यस मध्ये लोसपाका नेता महतो स्वयं उम्मेदवार बनेका छन् ।

कांग्रेस, माओवादी र एसले जसपालाई समर्थन गरेका छन् । जसपाका अध्यक्ष यादवले उम्मेदवारी दिने कारणले बारा–२ नेपालभरि नै चर्चामा रहेको छ । त्यस क्षेत्रमा ‘हेभीवेट’का उम्मेदवारहरु उत्रन थालेका छन् । प्रतिस्पर्धी उम्मेदवार देखिएका यादव, कुशवाहा र महतो तीनै जना पूर्व पराजित भएका हुन् । यादव सप्तरी–२, कुशवाहा बारा–२ र महतो सर्लाही–२ बाट पराजित भएका हुन् । प्रतिस्पर्धी सबै उम्मेदवार गत चुनावमा २ नम्बर क्षेत्रमा नै पराजित भएका थिए । ३ फरक जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट पराजित भएका उम्मेदवारहरु अहिले फेरि बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा नै उम्मेदवारी दिने तयारी गरेका छन् ।

Comment

Related News

Latest News

Trending News