अपडेट 
२०७९ चैत्र १७, शुक्रबार ०७:५६

हिन्दु धर्ममा चार युगको परिकल्पना गरिएको छ । पहिलोलाई सत्ययुग भनिन्छ । सत्ययुग भनेको सत्यमा आधारित युग हो । सर्वत्र सबैले सत्य बोल्ने युग भएकोले त्यस युगलाई देउताको युग पनि भनिन्छ । त्यस युगमा जन्मने जति सबै देउता नै हुन् भन्ने मान्यता रहेको छ । यस युगमा नै बह्मा, विष्णु र महेश जस्ता भगवानहरुको कल्पना गरिएको छ । युगको सृष्टि कसरी भयो, भगवानहरु को हुन् आदि जस्ता अनेक रह्स्यबारे यस युगले बोलेको पाइन्छ । धर्म र शास्त्रहरुले लिने धार्मिक आध्यात्मिक दृष्टिकोण एउटा पाटो हो तर विज्ञान र वैज्ञानिक खोजको दृष्टिकोणले पनि आस्था, विश्वास, धार्मिक ग्रन्थहरु महत्पूर्ण मानिन्छ ।

सत्यगुगमा गरिएका खोजी र अनुसन्धानहरुले अहिले पनि लाभान्वित भइरहेको छ विश्व । मुख्य गरी आयुर्वेदको क्षेत्रमा भएको खोज निकै महत्वपूर्ण साबित भएको छ । विभिन्न यज्ञहरुको चलन यही युगबाट भएको हो । सत्ययुगपछि त्रेतायुग आएको मानिन्छ । त्रेता चाहिँ तृतियता हो भन्ने भाव बोकेको समाजले अथ्र्याएको पाइन्छ । तृतियता कसरी त ? के भनिन्छ भने सत्ययुग प्रथम हो । द्वापर द्वितीय हो । युगको आगमनमा हुनुपर्ने द्वितीय अर्थात् द्वापर तर तृतीय स्थानमा आउनुपर्ने त्रेता आइदियो द्वितीय स्थानमा आउनुपर्ने द्वापरभन्दा पहिले । समाजमा यस किसिमको मान्यता रहेको छ कि गडबढ त्यहीँबाट सुरु भएको छ । गडबडलाई विक्रम अर्थात् क्रमभन्दा फरक पनि भन्न सकिन्छ । समयको यो नवीन सिर्जना थियो । समय जहिले पनि संक्रमणशील हुन्छ भन्ने उदाहरण पनि हो हो । मिश्रणविहीन समय त केवल सत्ययुग मात्र रह्यो । त्रेता जब द्वापरको स्थानमा आयो तब समयले धेरै किसिमको मिश्रण लिएर आयो । धेरै विकृति लिएर आयो । रोग, भोक, शोक लिएर आयो । सत्ययुगमा पनि द्वन्द्व थियो । विभिन्न जातिको अवधारणा आइसकेको थियो । जातिमा बेमेल पनि थियो, विग्रह थियो, विखन्डन थियो तर हरेक क्षेत्रमा मर्यादाको उच्च पालन भइरहेको थियो । त्रेतासम्म आइपुग्दा मर्यादाको निकै धेरै दोहन भइसकेको थियो । मानिसहरुबाट मर्यादा पालनको खोजी गरिन थालिएको थियो । यही मर्यादापालनको महानायक राम हुन् । भगवान रामलाई मर्यादा पुरुषोत्तम भनिएको छ । धार्मिक ग्रन्थहरुले सत्ययुगका नायक भनेर ब्रह्मा, विष्णु तथा महेशलाई चिनाएका छन् ।

समाजले पनि यस कुरोलाई स्वीकार गरेको छ । त्रेतायुगको नायक भनेर रामचन्द्रलाई मानिएको छ । रामचन्द्रलाई भगवान नै भनिएको छ र विष्णुको अवतार मानिएको छ । द्वापर युगमा श्रीकृष्णलाई नायक मानिएको छ । त्यसपछि भगवान गौतम बुद्धलाई महान मानिएको छ । भगवान गौतम बुद्धसम्मलाई शास्त्रहरुले अवतार नै मानेका छन् । कुनै पन्थ वा धार्मिक समूह वा कुनै विशेष क्षेत्रमा बाहेक भगवान रामको कथा सर्वत्र सर्वथा बढी सुनिन्छ । रुचाइन्छ । उदाहरणका रुपमा बढी दिइन्छ । यसकारण रामलाई अन्य देवता वा भगवानमध्ये अलिक बढी नै समाजसित जोडिएको पाइन्छ । राम र रामको युग तथा परिवारसित जोडिएर अनेक बस्तीको नाम राखिएको पाइन्छ । रामपुर, रामवन, भरतपुर, सीतापुर, लखनपुर, लखनदेई, लक्ष्मणवा जस्ता अनेक ठाउँ छन् जसलाई रामसित जोडिएको पाइन्छ । यदि खोज्ने हो भने यस्ता धेरै गाउँको नाममा राम र तिनको परिवारसित जोडिएका मिथकहरु पाइन्छन् । गाउँको नामकरणसित जोडिएका अनेक कथाहरु प्रचलनमा रहेको पाइन्छ । यसलाई रामको लोकप्रियता वा रामसित जोडिएर आउन चाहने प्रवृत्ति मान्न सकिन्छ । अहिले पनि रामसित जोडिएर मानिसकै नाम राख्ने चलन छँदैछ । राम, राम बहादुरदेखि परशुराम, शिवराम जस्ता मूल नाम नै राम राख्ने वा नामको अगाडि राम वा नामको पछाडि राम जोडेर नाम नै राख्ने चलन छ । तराई मधेशमा कुशवाहा तथा राम गरी दुई थर पनि प्रचलनमा रहेका छन् । राम थरको सम्बन्ध रामसित छ कि छैन वा कुशवाहा थरको सम्बन्ध रामको छोरो कुशसित छ कि छैन, यी प्रश्न नै होइनन् ।

राम वा तिनको परिवारसित मानिसको वंश परम्परा पनि प्रत्यक्ष वा परोक्ष रुपमा जोडिएको पाइनुको पछाडि रामसित समाज निकै कसिलो गरी जोडिएको छ भन्ने कुरा देखाउन पर्याप्त छ । रामसित व्यक्तिलाई, समुदाय वा जातलाई, गाउँ वा बस्तीलाई जोड्ने चलन पहिलेदेखि नै चलिआएको छ र अहिले पनि रहेको छ । यो रामको लोकप्रियता हो । राम भन्ने शब्द अभिभादनको रुपमा पनि प्रयोग भइरहेको छ । दुई सम्धी वा सम्धिनी एक ठाउँमा भेट हुँदा राम राम सम्धी वा सम्धी राम राम, सम्धिनी राम राम भन्ने गरिन्छ । दुई मित वा यार भेट हुँदा पनि राम राम यार, मित राम राम भन्ने गरिन्छ । गलेमा गले मिल्दै गर्दा अर्थात् अँगालो मार्दै गर्दा पनि राम राम भन्ने गरिन्छ । यसै गरी मानिसको अन्तिम संस्कारसित राम जोडिएको छ । राम नाम सत हए, सबका एही गत हए भनिरहँदा अन्तिम सत्य मृत्यु र रामलाई लिइएको सामाजिक मान्यतालाई देखाउँछ । गन्तीको क्षेत्रमा पनि रामको प्रयोग हुन्छ । एकलाई रामको पर्यायको रुपमा रामे राम राम भन्दा एक गनेको पाइन्छ । दुइए राम दू भन्दा एकमा एक थप्दा दुई भन्ने भावले हरेकमा एक अर्थात् राम थप्ने र गन्ने चलन अझै पनि रहेको छ । दुःखमा रामलाई सम्झिन्छन् र भन्दछन् हे राम । दुःखको साक्षी रामलाई बनाउँछन् वा मान्दछन् । सुखमा पनि रामलाई सम्झन्छन् । रामको नाममा यज्ञ गर्दछन् । सीताराम नाम नै जप्दछन् । अष्टजाम गर्दछन् जहाँ कम्तीमा चौबिस घन्टा रामको नामको जप हुन्छ ।

गाउँमा रामको भजन हुन्छ, कीर्तन हुन्छ । हरेक गाउँमा अझै पनि राम जानकी मन्दिर रहेको छ जहाँ हरेक दिन बिहान र बेलुकी पूजा हुन्छ । अनेक उखान, आहान र टुक्काहरुमा राम जोडिएको छ । बोलीमा पनि राम थेगो बनेर आउने गरेको छ । गाउँ समाजसित रामको मिथकको भन्डार नै रहेको छ । रामसितको सामाजिक सम्बन्ध यसरी निकै गहिरोसित जोडिएको पाइएको छ । वास्तवमा राम आफैँमा एउटा संस्कृति बनिसकेको छ । रामको जीवन र जीवनीको बारेमा धेरै नबुझे पनि वा नजाने पनि सर्वसाधारण निरक्षर ग्रामीणले समेत अन्य कुनै पनि देउता वा भगवानको भन्दा रामको बारेमा बढी चर्चा अवश्य गर्दछन् ।सरल रैखिक शेलीमा रामको कथा सजिलै भन्दछन् । रामको जीवनी छोटकरीमा भन्न कसैलाई कुनै गाह्रो हुँदैन । रामलाइृ नायक वा भगवान मानेर तिनीप्रति अत्यन्त अगाध आस्था राख्दै कथा भन्न वा नाम जप्न लाखौँ मानिसको अन्तर्मनमा सुख हुन्छ । राम नामले सुखको अनुभूति पनि गराएको छ । रामको नाम जप्दा मुक्ति पाइन्छ भन्ने स्थायी सन्देश मनमा बसेको छ, समाजमा रहेको छ । बिहान उठ्दा र राति सुत्दाको समयमा अझै पनि अधिकांश मानिसले रामको नाम जप्दछन् । रामको नाम जपिरहने मानिसप्रति अनौठो सहानुभूति हुन्छ समाजमा । रामको नामसित नाता जोडेको वा निरन्तर रामको नाम जप्ने वा सेवा गर्नेलाई अहिले पनि गाउँ समाजले सामान्यभन्दा केही बढी सम्मान दिइएको पाइन्छ ।

अझ कतिपय अवस्थामा समाजमा सबैभन्दा उच्च स्थान पनि दिइएको देखिन्छ । रामलाई काल्पनिक मान्न कोही पनि तयार छैनन्, काल्पनिकको ठाउँमा अलौकिक पुरुषको रुपमा सबैको हृदयमा रामको स्वीकृति रहेको देखिन्छ । रामको जन्म दिनलाई अत्यन्त श्रद्धापूर्वक मान्दछन् । रामको जन्म दिन चैत महिनाको शुक्ल पक्षको नवमी तिथि हो । यस दिनलाई समाजले दुई उपनामले चिन्दछ । पहिलो रामनवमी र दोस्रो चैतनमी अर्थात् चैतनवमी । समाजमा चैतनमी भनेपछि वा रामनवमी भनेपछि सोझै रामको जन्म दिवसको रुपमा सर्वसाधारणले बुझ्न्ले रामसित समाजको घनिष्ट सम्बन्धको बारेमा आफैँ व्याख्या गर्दछ । रामको जन्म दिनलाई समाजले एउटा एउटा पर्वको रुपमा मान्दछ । हरेक घरले नै पनि रामनवमीलाई एउटा पर्व भनेर मान्दछ र मनाउँछ पनि । यसरी हाम्रो समाजको सम्पूर्ण र समग्र जीवनपद्धतिलाई प्रभावित पार्ने रामसित हाम्रो समाजको सम्बन्ध व्याप्त र व्यापक छ । प्रगाढ र समृद्ध छ ।

Comment


Related News