
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मल उद्योग स्थापना गर्ने बताएका छन् ।
बिहीबार उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको कार्य समिति पद हस्तान्तरण कार्यक्रममा उनले आगामी योजना मल उद्योग स्थापना गर्ने रहेको बताए । ‘हाम्रो प्रदेशको ठूलो जनसंख्या कृषि कर्म गरेर जीवनयापन गर्दै आएका छन् । त्यसकारण एक वर्षभित्रै मल उद्योग सञ्चालनमा ल्याउनु प्रदेश सरकारको योजना छ,’उनले भने,‘यसले युवालाई कृषितर्फ आकर्षित गर्नुको साथै बेरोजगारी पनि घट्छ । युवाहरुले स्वदेशमै रोजगारी पाउँछ ।’ अन्य उद्योग सञ्चालन गर्न सरकारसँग स्रोतसाधन अभाव हुने उनले उल्लेख गरे । तर निजी क्षेत्रसँग साझेदारी अन्य उद्योग धन्दा सञ्चालनमा ल्याएर युवाहरुलाई रोजगारी प्रदान गर्ने उनले बताए । उद्योगीको समस्याप्रति सरकार गम्भीर भए पनि प्रदेश सरकारसँग पूर्ण अधिकार नभएको हुनाले अपेक्षा अनुसार काम गर्न नसकिएको उनले उल्लेख गरे । निजी क्षेत्रले देश विकासमा महत्वपूर्ण सहयोग गरेको उनले बताए । उद्योग व्यवसाय र उपभोक्ताको विषयमा केही जटिलता रहेको र सो अन्त्यको लागि आफूले पहल गर्ने उनको कथन छ । व्यवसायीको हरेक राम्रो काममा आफ्नो सहयोग रहने उनले प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा उद्योग, पर्यटन तथा वन राज्यमन्त्री रहबर अन्सारीले सरकारले उद्योगी व्यवसायीहरुको हौसला बढाउने काम गर्नुपर्ने बताए । ‘महिलाहरुलाई सिलाई कटाई, पातको भाँडा बनाउन लगाएर समृद्धि खोज्छौं भने त्यसले समृद्धि आउँदैन ।’,उनले भने । ‘हाम्रो यहि कार्यकालमा समृद्धि देख्न चाहान्छौं । हामीलाई समृद्ध बनाउनका लागि निजीक्षेत्र क्रिएटिभ र सृजनशील फोर्स आवश्यक छ।’,उनले प्रष्ट पारे ।
नेपाल उद्योग वाणिज्य महासंघ– मधेश प्रदेशका नवनिर्वाचित अध्यक्ष अशोककुमार टेमानीले मधेश प्रदेशले बोकेको अपार सम्भावनाहरु कृषि, पर्यटन, उद्योग, व्यापार लगायतका क्षेत्रहरुलाई आफ्नो कार्यकालमा विश्लेषणात्मक तवरबाट उजागर गर्दै सम्बन्धित क्षेत्रहरुको प्रवद्र्धन र विकास गर्न मधेश प्रदेश सरकारसँग घनिभूत सहकार्य तथा क्षेत्रगत परियोजनाको विकासमा संस्थागत रुपमा अघि बढ्ने बताए । उनले कृषिको व्यवसायीकरण नारामा मात्र सीमित रहेकोले यसलाई वास्तविक रुपमैं व्यवसायीकरण गर्न प्रविधि, कृषि उपकरण तथा उन्नत बीउबिजन र समयमैं सिंचाईको प्रविधिका लागि समेत मधेश प्रदेश सरकारका सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने विचार व्यक्त गरे । अध्यक्ष टेमानीले नेपाल उद्योग वाणिज्य महासङ्घ, काठमाण्डु केन्द्रित “कृषि उद्यम केन्द्र” लाई प्रादेशिक स्तरमा पनि स्थापना गरी त्यसको शाखाकै रुपमा भए पनि नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेश प्रदेशमा स्थापना गर्ने धारणा राख्दै मधेश प्रदेशले बोकेको अपार सम्भावना र आर्थिक सामथ्र्यलाई राष्ट्रिय सञ्जालमा जोड्ने उद्देश्यले “मधेश भिजन २०९०” अवधारणा अघि बढाउने सामूहिक सोच रहेको जानकारी दिए । अध्यक्ष टेमानीले युवा पुस्तामा देखिएको नयाँ जोश र जाँगरलाई पूँजीकृत गर्ने आवश्यकता औल्याउँदै युवालाई कृषि, पर्यटन, उद्योग र व्यापारका नवीन क्षेत्रमा सहभागी गराउन तद्अनुरुपका कार्यक्रम र नवीन प्रविधिसँग साक्षात्कार गराउने आपूm लगायत आफ्ना सहकर्मीहरुको सोच रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ–मधेश प्रदेशका अध्यक्षहरुले नयाँ नेतृत्वले उद्योगीहरुको समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।