अपडेट 
२०७९ चैत्र १७, शुक्रबार ०८:०९

राणा कालमै स्थपना गरिएको महोत्तरीको जलेश्वरस्थित कारागारको समय अनुसार स्तर वृद्धि नहुँदा कारागारमा बस्ने कैदीबन्दीको जीवन कष्टकर बनेको छ । २ सय कैदीबन्दी क्षमता रहेको सो कारागारमा हाल ५ सय ५० अर्थात ६३ प्रतिशत बढी कैदीवन्दी रहेका छन् । कारागार क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कारागारमा ठाउँको अभाव भइ कैदीबन्दीहरु कष्टकर जीवन बिताउन वाध्य भएको कारागार प्रशासनले जनाएको छ ।

ठाउँको अभाव भएपछि ती कैदीबन्दी उभिएर खाना खान, बस्न वाध्य बनेको कारागारका जेलर रामचन्द्र साहले बताए । कारागार भित्र विभिन्न अपराधका सजाय काटिरहेका कैदीबन्दी मध्ये लागूऔषध ओसारपोसारका बन्दीहरु बढी रहेको उनले जानकारी दिए । बजेट तथा श्रोतसाधनको अभावमा कारागारलाई समयनुसार स्तरवृद्धि नगर्दा बन्दीहरु कष्टकर जीउन वाध्य रहेको बताउदै जेलेर साहले भने,‘ बस्ने ठाउँको अभाव, वर्षायाममा कारागार चुहिने समस्याले खान, सुत्न र बस्न समस्या छ ।’ २०७४ सालमा कारागार डुबानमा परेको उल्लेख गर्दै सूचना अधिकारी रवीन्द्रचन्द ठाकुरले भने, ‘पुरानो तथा जीर्ण कारागार भए पनि यहाँ जेल जीवन बिताउने कैदीबन्दीको समस्याप्रति संघीय र प्रदेश कुनै सरकारले ध्यान दिएको छैन । ’ संघीय सरकारले सिद्धा खर्च वापत प्रत्येक कैदीबन्दीलाई दिनको ७ सय ग्राम चामल र ८० रुपैयाँ नगद दिने गरेको छ ।जुन हात्तीको मुखमा जिरा जस्तो भएको त्यहाँका कर्मचारीहरुको गुनासो छ । कारागारमा रहेका कैदीबन्दीहरुको सिद्धा खर्च वापत चालु आर्थिक वर्षमा एक करोड ६० लाख रुपैयाँ वार्षिक खर्च हुने भनेर संघीय सरकारसंग माग गरिएको थियो । तर चालु आर्थिक वर्षमा संघीय सरकारले मात्र सिद्धा खर्च वापत एक वर्षको लागि ७० लाख २६ हजार २५० रुपैयाँ मात्र उपलब्ध गराएको कारागारका लेखाप्रमुख टिकाराम ओलीले बताए ।

त्यसै गरी कारागार भित्र रहेका ५ सय ५० जना कैदीबन्दीलाई वर्षमा २८ लाख ५० हजार मूल्यबराबरको वर्षमा सबै कैन्दीबन्दीलाई २ जोर कपडा, कैदीबन्दीलाई सेवा सुविधा वापत १९ लाख ५० हजार, कैदीबन्दीहरुलाई अन्य ठाउँमा हस्तान्तरणको लागि वार्षिक १ लाख ५० हजार, इन्धन वापत वार्षिक ५० हजार, सवारी साधन मर्मत खर्च २५ हजार मात्र संघीय सरकारले दिने गरेको छ । कैदीबन्दीहरुको उपचार खर्चमा ५ लाख र उनीहरुलाई वार्षिक कम्बल र सिरक वितरणमा १२ लाख मात्र बजेट दिइएको उनले बताए । कारागारमा कैदीबन्दी बस्ने तीन वटा लामो हल रहेको छ । प्रत्येक हलमा ३५देखि ४० जना सम्म कोचिएर बस्ने गरेकाले विभिन्न रोगको जोखिमहरु बढ्ने जेलेर साहले बताए । कारागार भित्र १४ वटा शौचालय, एक पुस्तकालय, एक औषधि पसल, एक किराना पसल र चिकित्सकहरुको व्यवस्था भए पनि भौतिक संरचनाको अभावमा कैदीबन्दीहरु सहज रुपमा सेवासमेत लिन नसकिरहेको उनले बताए ।

आर्थिक रुपमा कैदीबन्दीहरुको अवस्था गम्भीर रहेकोले थप आर्थिक आम्दानीको लागि कारागार भित्र करिव ४० जना कैदीबन्दीहरुले मुढा बनाए पनि बजारको अभावमा बिक्री हुन सकेको छैन । आर्थिक रुपमा सम्पन्न कैदीबन्दी घरबाट मगाएर आफ्ना गुजारा गरे पनि आर्थिक रुपले दयनीय कैदीहरुको हालबेहाल रहेको एक कर्मचारीले बताए ।

Comment

Related News

Latest News

Trending News