
मिटरब्याज पीडितहरुले संघीय राजधानी काठमाण्डुमा आन्दोलन गरिरहेका बेला धनुषा प्रहरीले तीन जना मिटरब्याजीलाई शुक्रवार पक्राउ गरेको छ । धनुषा प्रहरीले ऋणीसँग रकम लिइसके पनि सम्पत्ति फिर्ता नगरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
सबैला नगरपालिका–२ का ३६ वर्षीया पुनिता देवी यादव, सोही ठाउँका ४० वर्षीय बुदुलाल यादव र जनकपुरधाम उपमहानगरपालिका—२४ बसहियाका ३५ वर्षीय श्रवण दासलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले जनाएका छन् । उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको डीएसपी गौतमले जनाए । सोही उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान शुरु गरिएको उनले बताए । धनुषामा ५ सय मिटरब्याज पीडितले साहु विरुद्ध उजुरी गरेका छन् ।
प्रहरीले दुबै पक्षलाई छलफल गराइ मिलापत्र पनि गराउने गरेका छन् भने ऋणीको सम्पत्ति आवश्यकता भन्दा बढी कब्जा गरेका साहुहरुलाई नियन्त्रणमा पनि लिइ मुद्दा अगाडि बढाइरहेका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मिटरब्याज सम्बन्धी कारबाही चलाउने कानूनको अभाव रहेपनि ज्यादती गरी अनुचित रुपमा रकम असुली गर्नेहरुलाई ठगी मुद्दामा समेत कारबाही चलाइने बताएका छन् । ‘ऋणी र साहुकारबीच सहमतिमा लेनदेनको विषय टुंग्याउनेलाई कारबाही गरिएको छैन्’ उनले भने, तर कानून बनेपछि मिटरब्याजीहरुलाई कडा कारबाही हुनेछ ।
मिटरब्याजको चर्को समस्या काठमाण्डु लगायतका ठूला शहरहरुमा झनै विकराल रहेको बताइन्छ ।तर मधेशमा मर्कामा विपन्न वर्ग बढी परेका छन् ।