अपडेट 
२०७९ चैत्र १९, आईतवार ०७:२५

बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को उपचुनावमा दलगत रुपमा ५ वटा उम्मेदवार रहने भएका छन् । सत्तासीन गठबन्धनबाट एकजना मात्र उम्मेदवार हुनेछन् । बारा–२ को उपचुनावले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने भएकाले विशेष चर्चामा रहेको छ । जनता समाजवादी पार्टी(जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारीले चुनावलाई चर्चाको शिखरमा पु¥याएको छ ।

यादवलाई जसरी नै पराजित गराउन लागिपरेका जनमत पार्टीले माओवादीबाट अलग्याएर ल्याएका शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएको छ । जसपाका उम्मेदवारलाई पराजित गराउने मुख्य लक्ष्य बनाएको जनमत पार्टीपनि चुनावी चर्चामा रहेको छ ।

हालै गठन भएको आम जनता पार्टी( आजपा)का अध्यक्ष प्रभु साहले पनि उम्मेदवार उठाउने घोषणा गरेका छन् । आजपाबाट अरुण ज्ञवालीले उम्मेदवारी दिनेछन् । आजपाले पनि चुनावको तयारी थालिसकेको छ । निर्वाचन क्षेत्र नम्बर २ मा आजपाले गत हप्ता ठूलो भेला गरेको थियो ।

एमाले केन्द्रीय सचिवालयको शनिबारको बैठकले तनहुँको निर्वाचन क्षेत्र नम्बर १ र चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारको नाम सार्वजनिक गरे पनि बारा–२ मा उठाउने उम्मेदवारको विषयमा बोलेको छैन् । तर बारा जिल्लाका एमाले नेतृत्वले पुरुषोत्तम पौडेल उम्मेदवार हुने प्रचारप्रसार थालेको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले चर्चित प्रहरी अधिकारी रमेश खरेललाई बारा–२ मा उम्मेदवार घोषणा गरेको छ । रास्वपाका अध्यक्ष रवि लामिछाने चितवन–२ , स्वर्णिम वाग्ले तनहुँको १ र खरेल बारा–२ बाट उम्मेदवार हुने घोषणा शनिबार आयोजित पत्रकार सम्मेलनमा गरिएको छ ।

सत्तासीन गठबन्धनमा रहेका दलहरुको तर्फबाट जसपाका अध्यक्ष यादव एकमात्र साझा उम्मेदवार हुने छन् ।नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी लगायतले बारा–२ मा उम्मेदवारी दिने छैन् । कांग्रेस, नेकपा एस र माओवादी केन्द्रले गत चुनावमा माओवादी केन्द्रका उम्मेदवार शिवचन्द्र कुशवाहालाई सघाएको थियो । तर चुनाव जसपाका नेता रामसहाय यादवले जितेका थिए । यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपचुनाव हुन लागेको छ । मंसिरमा सम्पन्न आम चुनावमा जसपाबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोर यादव जसपामै फर्किसकेका छन् । कुशवाहा माओवादी छाडेर जनमतबाट उम्मेदवार भएका छन् । तर गत चुनावमा जनमतका उम्मेदवारले २ हजारको हाराहारीमा मत ल्याएका थिए । तर कुशवाहा साढे ३ सयको मतान्तरले मात्र पराजित भएका थिए । जनमत पार्टीले सत्ता गठबन्धनबाट नाता नै तोडिसकेको घोषणा नगरे पनि सातौ पटक भएको मन्त्रिमण्डल विस्तारसँगै जनमत पार्टीका मन्त्री अब्दुल खानले राजीनामा दिइसकेका छन् ।

चैत २० गते हुने मनोनयन पत्र दर्ताका लागि उम्मेदवारहरुले तयारी सुरु गरिसकेका छन् । जसपाका युवाको बृहत्त भेलाको आयोजना गरी उम्मेदवारी दर्तामा सहभागी हुने निर्णय गरेको जसपाका केन्द्रीय सदस्य योगेन्द्र यादवले जनाएका छन् । चुनावमा अन्य दलहरुको तुलनामा जसपा र जनमतले सम्पूर्ण ताकत लगाएका छन् । ३ क्षेत्रमा चुनाव भए पनि यी दुई दल बारा २ मा मात्र केन्द्रित भएका छन् । आजपाले उम्मेदवारी दिए पनि जसपा र जनमतको तुलनामा कम नै चर्चामा छ । बारा निर्वाचन क्षेत्र नम्बर– २ मा वैशाख १० गते हुने उप–निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरिएको हो ।

मंसिर ४ गते भएको निर्वाचनलाई नै आधार मानेर निर्वाचन कार्यालय बाराले यस पटक पनि ८२ मतदान स्थल र १ सय ३७ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज कुमार चौधरीले जनाएका छन् । जिल्ला न्यायाधीश मुकेश उपाध्यायलाई मुख्य निर्वाचन अधिकृत खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, जिल्ला समन्वय समितिका सभापति नरेन्द्र साह, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होविन्द्र बोगटी , सशस्त्र प्रहरी बाराका प्रमुख टोप बहादुर डाँगी, राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक अभिनय कुमार सिंह लगायत राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Comment

Related News