
गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले विकास निर्माणको कार्य भएसँगै बेरोजगारीको समस्या आफै समाधान हुने बताएका छन् ।
समृद्ध नगरपालिका हाम्रो चाहना भएकोले गौर नगरपालिका रौतहटमा पहिलो नमुना नगरपालिकाको रुपमा स्थापित हुने दाबी समेत गरे । गौर नगरपालिकाको आयोजनामा शनिबार वार्ड नम्बर २ महादेवपट्टीमा रहेको आधारभूत विद्यालयमा भएको जनता दरबार कार्यक्रम अन्तर्गत सार्वजानिक सुनुवाई कार्यक्रममा मेयर साहले विकास समृद्धिसँगै रोजगारी सृजना गर्ने उद्देश्य लिएर अघि बढ़ने गरेको उल्लेख गरे । सार्वजानिक सुनुवाई कार्यक्रममा सहभागीहरुले उठाएका जिज्ञासामा मेयर साहले गौर नगरपालिकामा विकास निर्माणको कार्य भए बेरोजगारी आफै समाधान भएर जाने विश्वास व्यक्त गरे । भौत्तिक पूर्वाधार ,सड़क ,नालाको निर्माण भएकामा व्यवसाय फस्टाउने र रोजगारी सृजना हुने उनको धारणा छ ।
शिक्षा ,स्वास्थ्य ,पूर्वाधार , स्वच्छ खाने पानी ,व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै मेयर साहले गौर नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा विषयगत शिक्षकको आपूर्ति गर्नु ठूलो चुनौती रहेको उल्लेख गरे । ७० वटा शिक्षक भर्ना गरे पनि अझ शिक्षक अभाव रहेको जिकिर गर्दै उनले शिक्षकको पद पूर्ति गर्न संघीय सरकार र प्रदेश सरकार संग पहल गरिरहेको जानकारी गराए । गएको बिहीबारका दिन गौर नगरपालिका–४ मा भएको आगलागीको घटनामा बारुण यन्त्र माथि गरिएको आक्रमण षडयन्ंत्र भएको दाबी गर्दै आगो निभाउने कार्यमा बाधा उत्पन्न गर्नु निन्दनीय रहेको टिप्पणी गरे । स्थानीयहरुले बाटो फराकिलो पार्नेबारे सोधेको प्रश्नमा उनले नगरपालिकामा निवेदन दिन आग्रह गरे । नगरपालिकाको विकास निर्माणको बजेट कार्यान्वयन गर्न प्राथमिकता अनुसारको योजना लागु गराउने प्रतिबद्ध भएको जनाए । वड़ा स्तरीय योजना छनोट गर्दा प्राथमिकता अनुसारको योजना छनोट गर्न स्थानीयहरुलाई सुझाव दिए ।
गौर जुद्ध माध्यमिक विद्यालयमा डिजिटल प्राविधि मार्फत अध्यन अध्यापन गर्ने कार्य प्रारम्भ भएको बताउँदै आधार भूत विद्यालय बाल मन्दिरमा बालबालिकाहरुलाई पठन पाठनको लागि विभिन्न खेलकूदको सामग्री व्यवस्थापन गर्ने जानकारी दिए । उनले भने ,‘कुनै पनि बाल बालिका विद्यालय बाहिर नरहोस भने मेरो चाहना हो । विवाह भवन ,टाउन हल लगायतका ठूलो योजनाको छिट्टै निर्माण कार्य प्रारम्भ हुने बताए । वड़ा अध्यक्ष विनोद चौधरीको अध्यक्षतामा सपन्न भएको सार्वजानिक सुनुवाई कार्यक्रममा गौर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर लगायत निर्वाचित जनप्रतिनिधि ,समाजसेवी ,बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।