
संरक्षणको लागि दोस्रो व्यक्तिलाई जिम्मा लगाएको घर जग्गा अर्के व्यक्तिले कब्जा गरेपछि पूर्व डिआइजी शैलेन्द्र प्रसाद सिंहको उठिवास भएको छ ।
मलंगवा नगरपालिका–३ स्थित रहेको पञ्चायतकालका अञ्चलाधीश तथा विशेष प्रहरीको रुपमा समेत कार्य गरिसकेका पूर्व डिआइजी शैलेन्द्र प्रसाद सिंह घर जग्गा अर्के व्यक्तिले कब्जा गरेको भन्दै प्रहरीको शरणमा पुगेका छन् । घर जग्गा कब्जा भएपछि सिंह तथा उनका श्रीमती शारदा उप्रेती मलंगवाकै छिमेकीको घरमा बास बस्नु परेको दुखेसो सिंहले पोखे । पीडित सिंहले भने,‘आफूहरु हाल काठमाण्डुमा वसोवास गर्दै आएको र बेलाबेलामा मलंगवा आउने र जाने गरेका थियौं ।आफ्नो गैेरहाजिरीमा घरको जग्गाको संरक्षण र देखभाल समेत होस् भनेर आफूहरु बस्ने घर बाहेकको सम्पूर्ण घर सम्झौता गरी ग्रिन ल्याण्ड बोर्डिङ स्कुललाई भाडामा दिएको र बेलाबेलामा काठमाण्डुबाट आएर घरजग्गाबारे जानकारी लिने गरेका थियौं।’ ‘तर यस पटक ८ महिनापछि मलंगवा आउँदा आफ्नो घरमा मैले नचिनेको एक अर्कै व्यक्तिले कब्जा गरी बसेको पाएको र ती व्यक्तिलाई तपाईं किन मेरो घरमा बस्नु भएको जानुस् भनि भन्दा ती व्यक्तिले यो तपाईं घर होइन मेरो घर हो बढी बोल्यौ भने कुटेर धपाउँछु भनि सोझै घम्काएर मेरो आफ्नै घरबाट घरबारविहीन बनाएको छ।’,उनले स्पष्ट पारे । घरभित्र रहेको सामानहरु समेत गायब गरिसकेको पीडित सिंहले प्रहरी समक्ष जानकारी गराएका छन् ।
पूर्व डिआइजी सिंहका छोराहरु रोजगारीको क्रममा नेपाल बाहिर बस्दै आएको मौका छोपी एउटा वूद्ध लाचार दम्पत्तीले केही पनि गर्न नसक्ने भन्दै केही व्यक्तिहरुले घर जग्गा कब्जा गरेको पीडित सिंहले बताए । ‘देशकै एउटा ठूलो ओहोदामा रहेको व्यक्तिलाई समेत नछाड्ने यस्ता भूमाफियाहरुले सर्वसाधारणहरुको के हालत गर्दै होला सोंचेर मनमा पीर लागेर आउँछ’।,उनले दुखेसो पोखे । घर जग्गा कब्जा गरेर बसेका व्यक्ति उपर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा निवेदन(उजुरी) समेत दिइसकेको र सोही उजुरीको आधारमा ती व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसंधान प्रक्रिया अगाडि बढाएको सिंहले जानकारी दिए । न्यायको लागि भौतारि रहेका पुर्व डिआइजी सिंह दम्पत्ती अहिले मलंगवाकै एक जेष्ठ नागरिकको घरमा शरणार्थी झैं बस्न बाध्य छन् ।