अपडेट 
२०७९ चैत्र १९, आईतवार १५:४४

जनता समाजवादी पार्टीमा रिक्त रहेको प्रतिनिधि सभा सदस्य पदमा मञ्जु शर्मा अन्सारीले शपथ लिएकी छिन्। सभामुख देवराज घिमिरेले आइतबार सिंहदरबारमा अन्सारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

समानुपातिक निर्वाचन प्रणालीबाट जसपा नेपालको समावेशी समूह, मुस्लिम-महिलामा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त पदमा जसपाले अन्सारीको नाम सिफारिस गरेको थियो। निर्वाचन आयोगले चैत ६ गते अन्सारीलाई प्रतिनिधि सभा सदस्य निर्वाचित गरेको घोषणा गरेको थियो।

२०२० सालमा नेपालगन्ज– १३ मा जन्मिएकी अन्सारी तीन दशकदेखि सक्रिय राजनीतिमा छिन्। २०४६ सालमा तत्कालीन नेपाल सदभावना पार्टीबाट राजनीति सुरु गरेकी अन्सारीले पार्टी निकट सदभावना महिला मञ्चको केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरेकी थिइन्। उनले २०५६ सालमा सदभावना पार्टीबाट रौतहट क्षेत्र नम्बर– ३ मा प्रतिस्पर्धा गरेकी थिइन्।

शपथपछि अन्सारीले प्रतिनिधि सभा सदस्यका रुपमा आफूले राज्यप्रति इमान्दारितापूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छिन्।

Comment


Related News