अपडेट 
२०७९ चैत्र २०, सोमबार ०६:१८

रौतहट जिल्लामा एकजना मेयरका लागि एसईई परीक्षा दिने ज्वाईलाई आइतबार पक्राउ गरिएको छ ।

रौतहट जिल्लाकै देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा उनका आफ्नै ज्वाईले एसईईको परीक्षा दिदै गरेको अवस्थामा पक्राउ परेका गरुडा नगरपालिका ६ पोठियाहीका कमल साह छन् । पेशाले इञ्जिनियर रहेका साह मेयर प्रेमलालका आफ्नै ज्वाई हुन् । उनी रेडियो नेपाल बर्दिबासमा प्राविधिक सहायक पदमा कार्यरत रहेका छन् । एसईईको जाँच दिइरहेको अवस्थामा जिल्ला परीक्षा अनुगमन समितिले उनलाई आइतबार पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले पुष्टि गरेको छ । मौलापुर नगरपालिकाको लक्ष्मिनिया मावी परीक्षा केन्द्रबाट मेयर साहको साटो उनका ज्वाई साहले परीक्षा दिइरहेका थिए । पहिलो दिनको परीक्षा शुक्रबार सहज रुपमा दिए पनि आइतबारको परीक्षामा नक्कली परीक्षार्थी रहेको जनाउ जिल्ला परीक्षा अनुगमन समितिलाई दिएको थियो । समितिले परीक्षा केन्द्रमा जाँच गर्दा कमल साह नक्कली परीक्षार्थी रहेको रहस्य खुलेको थियो ।

नेकपा एमालेबाट देवाही गोनाही नगरपालिकाको प्रमुखमा निर्वाचित भएका साह कानु एसईई परीक्षा उतीर्ण गरेका छैनन् । उनले एसईई परीक्षा उतीर्ण गर्न उनले कक्षा ८ को नक्कली सर्टिफिकेट बनाइ कक्षा ९ मा समेत नियमित विद्यार्थीको रुपमा उतीर्ण भइ कक्षा १० मा नामांकन गराएका थिए । मौलापुर नगरपालिकाको लक्ष्मीनिया मावि केन्द्रमा नियमित तर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा उनका ज्वाई कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो । परीक्षा संचालन भएको अवस्थामा अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाँच गर्दा साह पक्राउ परेका हुन । पक्राउ परेका नक्कली परीक्षार्थीको पहिचान प्रष्ट भइसकेकाले उनको परीक्षा रद्द गरिने र आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । एसईई परीक्षालाई मर्यादित बनाउने जिम्मेवार तहमा रहेका कानु र इञ्जिनियरींग पेशामा रहेका नक्कली परीक्षार्थी दुबैलाई हदैसम्मको कारबाही हुने बताइएको छ । तर मेयर कानु र उनका ज्वाई दीपकलाई जोगाउन एमालेका नेताहरुले स्थानीय प्रशासनमाथि दबाब दिन थालेका छन् ।

स्रोतका अनुसार मुद्दा नचलाउन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई एमालेका माथिल्लो तहबाट समेत दबाब आउन थालेको स्रोतले जनाए । एसईई परीक्षामा नक्कली परीक्षार्थी भएर सट्टा परीक्षा दिनेको शैक्षिक योग्यताको प्रमाण पत्र समेत रद्द गरी अयोग्य ठहर गर्न सक्ने प्रावधान छ । हदैसम्मको कारबाही नगरिदिन एकातर्फबाट प्रशासनमाथि दबाब छ, भने अर्को तर्फबाट नियम अनुसार कडा कारबाही नभए परीक्षामा अराजकता हुन सक्ने धम्की अर्को पक्षले दिन थालेका छन् । मधेश प्रदेशमा परीक्षालाई मर्यादित बनाउन प्रदेश सरकार र स्थानीय प्रशासन जुटेका छन् । शिक्षा मन्त्री महेश यादव लगायतका निकायहरु परीक्षाको अनुगमनमा खटिरहेका छन् ।परीक्षामा चिट चोर्न सहयोग गरेको आरोपमा धनुषा जिल्लामा ३ जना शिक्षक पक्राउ परेका छन् ।

Comment


Related News

Latest News

Trending News