
साहुको ऋण तिर्न नसकेपछि सर्लाहीमा एक परिवारको उठिवास भएको छ । जिल्लाको पर्सा गाउँपालिका–६का राम ईश्वर ठाकुरले ७ वर्ष अगाडि आफ्नो घर जग्गा दृष्टिबन्धक राखेर गाउँकै एक व्यक्तिसँग ६० हजार रुपैयाँ ब्याजमा लिएका थिए । सो ६० हजार रुपैयाँको ७ वर्षमा ब्याज रकमसमेत मिलाएर १० लाख रुपैयाँ भएको र सो रकम बुझाउन नसकेपछि साहुले उनको सम्पूर्ण घर जग्गा कब्जामा लिएपछि ठाकुर अहिले आफ्ना श्रीमती र बालबच्चासहित गाउँदेखि बाहिर रहेको एउटा पुरानो र जीर्ण विद्यालयमा शरण लिएका छन् ।
आफूले साहुलाई १ लाख २० हजार रुपैयाँ बुझाउन तयार भएको तर साहुले भने ब्याजसहित आउने सबै रकम एक पटक लिने भन्दै आएको ठाकुरले बताए । आफ्नो अवस्था निकै दयनीय रहेको र त्यति रकम दिन असमर्थ रहेको भन्दै अनुनय विनय गर्दा पनि साहुले नमानेको उनले दुखेसो पोखे । यसका लागि ठाकुरले पर्सा गा.पा को न्यायिक समितिमा पनि निवेदन दिएको र न्यायिक समितिले पनि ठाकुरकै पक्षमा फैसला सुनाएको गा.पा अध्यक्ष धीरेन्द्र यादवले बताए । ठाकुरका अनुसार आफूले २०७२ सालमा साहुसँग ६० हजार रुपैया ऋण लिएको र सो रकम केही समस्याका कारण तिर्नमा ढिलो भएको थियो । आफूले काठमाण्डुमा संचालन गरेको गार्मेन्ट भुँइचालोमा भत्किएर ठूलो घाटा भएको र पछि कोरोना कालमा समेत आर्थिक समस्या थपिएपछि साहुको ऋण चुक्ता गर्न नसकेको सुनाए । साहुले गाउँमा भएको ३ धुर जग्गा पनि अदालतबाट मुद्दा गरेर आफ्नो कब्जामा लिइसकेको उनले बताए ।
आफू साहुलाई १ लाख २० हजार रुपैयाँ दिन तयार रहेको र न्यायिक समितिले सोही अनुसार फैसला सुनाए पनि साहु मान्न तयार नभएपछि बाध्य भएर आफूले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दिनुपरेको ठाकुरले बताए । न्यायको लागि पहल गरिदिन भन्दै ठाकुर दम्पत्ती सरोकारवाला निकाय र समाजसेवीहरुसँग अनुरोध गरेका छन् ।