अपडेट 
२०७९ चैत्र २०, सोमबार ०६:५३

रौतहटको यमुनामाई गाउँपालिका–.१ जेठरहियामा विष्णु महायज्ञ प्रारम्भ भएको छ । आइतबार आयोजित एक समारोहबीच उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महायज्ञको उद्घाटन गरेका छन् ।

आइतवारदेिख शुरु भएको महायज्ञ नौ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । यज्ञ उद्घाटन गर्दै उपराष्ट्रपति यादवले यस्ता गतिविधिले सम्पूर्ण मानव जाति तथा प्राणी मात्रको कल्याण हुने भएकोले मानवको कल्याणका लागि यस्ता यज्ञ ठाउँ–ठाउँमा आयोजना गर्नुपर्ने धारणा व्यक्त गरे । यस्ता किसिमका धार्मिक कार्यक्रम तथा पर्यटकीय स्थल सबैको अमूल्य सम्पत्ति भएकोले संरक्षण गर्नुपर्नेमा उपराष्ट्रपति यादवले जोड दिए । सबै ठाउँको पहिचान धार्मिक र पर्यटकीय स्थलबाटै नै हुने भन्दै उनले यस्ता यज्ञको जर्गेना र संरक्षण गर्नुपर्नेमा जोड दिँदै केन्द्र, प्रदेश र स्थानीय सरकारले धार्मिक तथा पर्यटकीय स्थलको उत्थान तथा विकासका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने धारणा राखे । संस्कृतिको संरक्षण र विकृतिलाई तिरस्कार गर्नुपर्ने भन्दै मधेश प्रदेश संस्कृति र पर्यावरणमा धनी भएकाले पर्यटकीय गन्तव्य अहिलेको आवश्यकता रहेको उनले औंल्याए ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं मधेश प्रदेशका पूर्व कृषि राज्य मन्त्री योगेन्द्र यादवले यस्ता किसिमका धार्मिक कार्यक्रमले समाजमा शान्ति, अमनचयन, आपसी सद्भाव, प्रेम, भाइचारा, एकता, र अपनत्व कायम हुने बताएका छन् । धार्मिक कार्यले विश्वकै कल्याण हुने भएकोले तिनै तहको सरकारले आफ्ना धर्म, संस्कृतिलाई संरक्षण गर्न तथा मानवको कल्याणका लागि धार्मिक कार्यमा पनि लगानी गर्नुपर्नेमा उनले जोड दिए । करिब ३५ लाखको लागतमा शुरु भएको यज्ञमा विभिन्न किसिमका खेलतमासाका साथै भारत वृन्दावनका रामलीला र रासलीलाको व्यवस्था गरिएको जसपाका स्थानीय नेता उपेन्द्र यादवले जानकारी दिए ।

यज्ञ उद्घाटन कार्यक्रममा यमुनामाई गाउँपालिकाका अध्यक्ष महम्मद साउद, माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादव लगाएतका नेता तथा विभिन्न पालिकाका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

Comment


Related News