अपडेट 
२०७९ चैत्र २१, मंगलवार ०७:३०

बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उप निर्वाचनका लागि पाँच दलीय गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १२ वटा राजनीतिक दल र बाँकी स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

उपेन्द्र यादवले जिल्ला समन्वय समिति बारामा रहेको निर्वाचनको कार्यालयमा आएर उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । यादवको प्रस्तावकमा जसपाका नारायण प्रसाद यादव र समर्थकमा सो दलका नवल यादव रहेका छन् । उनलाई नेपाली कांग्रेस, समाजवादी पार्टी, लोसपा, नेकपा माओवादीले समर्थन गर्दै आफ्ना उम्मेदवार उठाएका छैन् ।

यस क्षेत्रबाट निर्वाचित साँसद रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको छ ।

नेकपा एमालेबाट पूर्व मन्त्री पुरुषोतम पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । उनी कुनै गठबन्धनमा नरहे पनि राप्रपा लगायतको दलहरुलाई समर्थन गराउन तयारी गरिरहेका छन् । पौडेल एमालेको पोलिटब्युरो सदस्य समेत रहेका छन् ।

जनमत पार्टीबाट संविधानसभा सदस्य शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्व डिआइजी रमेश खरेलको उम्मेदवारी दर्ता भएको प्रमुख निर्वाचन कार्यालयबाट जानकारी प्राप्त भएको छ ।

नेपाल मजदुर किसान पार्टीबाट मुतिm प्रसाद यादव, हाम्रो नेपाली पार्टीबाट चन्द्रप्रकाश सुवेदी, आम जनता पार्टीबाट अरुण ज्ञवालीको उम्मेदवारी परेको छ ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा एमालेको समर्थनमा जसपाको तर्फबाट रामसहाय प्रसाद यादवले १३ हजार ८ सय ३२ मत ल्याइ बिजयी भएका थिए । तत्कालीन पाँच दलीय गठबन्धनबाट नेकपा मओवादीका शिवचन्द्र कुशवाहाले १३ हजार ४ सय ६८ मत प्राप्त गरेका थिए । स्वतन्त्र उम्मेदवार अरुण ज्ञवालीले ७ हजार ६ सय ९८ मत ल्याएको भए पनि अहिले प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवारी दिएका छन । स्वतन्त्र उम्म्ोदवार रवीन्द्र यादवले १० हजार ७ सय ५० मत ल्याएका थिए । तर उनले भने उम्मेदवारी दर्ता गराएका छैनन् । उपेन्द्र यादवलाई सघाउने घोषणा गरिसकेका छन् । स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोर यादवले ११ हजार ४३ मत ल्याएका थिए । उनी पुनः जसपामा फर्केर उपेन्द्र यादवलाई समर्थन गर्दै उम्मेदवारी दिएन् । जनमतबाट राजेश साहले २ हजार ७ सय २५ मत ल्याएको दखिन्छ् । त्यसै गरी नागरिक उन्मुतिm पार्टीबाट तेजबहादुर भगतले १ हजार १ सय ११ मत ल्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीबाट खरेल, जनमत पार्टीबाट कुशवाहा, नागरिक उन्मुतिmबाट डाक्टर कमरुल्लाह अंसारीलाई उपेन्द्र यादवको विरोधमा उम्मेदवार उठाएका छन् ।

क्षेत्र नम्बर २ मा जम्मा १ लाख ५ हजार २ सय ४८ जना मतदात रहेकोमा महिला ४६ हजार ३ सय १४ र पुरुषतर्फ ५८ हजार ९ सय ३४ रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले जानकारी दिए । यो क्षेत्रमा निर्वाचन निकै नै रोचक हुने भएको छ । मनोनयन दर्ता गराउनकालागि सो क्षेत्रमा सोमबार ठूलो घुइचो लागेको थियो । जसपाका अध्यक्ष उपेन्द्र यादवको समर्थनमा करिव ३० किलोमिटर सम्म चारपांग्रे सवारी साधनमा सवार नेता कार्यकर्ता निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । बारा निर्वाचन क्षेत्र नम्वर २ मा सीके राउतले नेतृत्व गरिरहेका जनमत पार्टीले जसपाका अध्यक्ष यादवमाथि गरिरहेको राजनीतिक प्रभाव भने सोमबार स्थनीय स्तरमा देखिएको थिएन् । सामाजिक सञ्जालमा अहिले यादव र राउतका कार्यकर्ताबीच व्यापक चुनावी तनाव देखिए पनि ग्रासरुटमा देखिएको थिएन् । जसपाका नेता कार्यकर्तामा मनोनयनलाई लिएर अत्यधिक उत्साह देखिएको थियो ।

गठबन्धनमा आवद्ध दलहरुले जसपाका अध्यक्ष यादवलाई उम्मेदवार बनाउने निर्णय गरे संगै जनमत पार्टीले पनि यादवलाई नै समर्थन जनाउने अन्तिमसम्म प्रयास भए पनि उनले कुशवाहालाई उम्मेदवार बनाएका छन् । जनमतले उपेन्द्र विरुद्धमा उम्मेदवारी दिए पछि राजनीतिक उथल पुथल हुने समेत देखिन्छ । केन्द्रमा र मधेश प्रदेशमा गठबन्धनका सरकार रहेको र दुबै ठाउँमा जनमत सरकारमा सामेल रहेका छन् । तर, उपेन्द्र विरुद्धमा गठबन्धको निर्णय विपरीत जनमतले दिएको उम्मेदवारीको प्रभाव निर्वाचन पछि हेर्न सकिने राजनीतिक विश्लेषकहरुको भनाई छ ।

Comment

Related News