
वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्ष दिगम्बर रायसहित पाँच जना दोषी ठहर भएका छन् ।
विशेष अदालतले आरोपित दश जनामध्ये पाँच जनालाई दोषी ठहर गरेको हो । न्यायाधीश श्रीकान्त पौडेल, न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले फैसला सुनाएको छ । फैसला अनुसार परिषद्का अध्यक्ष राय, तत्कालीन कार्यकारी निर्देशक डा. सूर्यदेव साह, कार्यकारी निर्देशक राजेशकुमार साह तेली, नायब सुब्बा उषा मिश्र, लेखापाल उत्तमराज शर्मा ढकाललाई दोषी ठहर भएका छन् ।
यस मुद्दामा दश जनालाई प्रतिवादी बनाइएको थियो । पाँच जनाले सफाइ पाएका छन् । दोषी ठहर भएकामाथि जनही १२ लाख ५७ हजार ७१३ रुपैयाँ बिगो बमोजिम जरिवाना तिर्नुपर्ने फैसलामा उल्लेख गरिएको छ । पाँचै जना मिलाएर कुल ६२ लाख ८८ हजार ५६९ रुपैयाँ जरिवाना कायम गरिएको छ । उनीहरू दोषी ठहर भए पनि सजाय निर्धारण भएको छैन् । यही चैत २८ गते सजाय निर्धारणको लागि पेशी तोकिएको छ ।
जनकपुरको रंगभूमि मैदान बाह्र बिघा, गंगासागर, धनुषसागर, तिर हुतिया गाछी संरक्षण कार्यलगायत विभिन्न आठवटा ठेक्काको बोलपत्र मूल्यांकन प्रक्रिया र निर्माण कार्यमा कुल ७६ लाख २८ हजार ५०२ रुपैयाँ अनियमितता भएको भन्दै अख्तियारले २०७५ कात्तिक १२ गते विशेष अदालतमा मुद्दा दायर गरेका थिए । परिषदका तत्कालीन अध्यक्ष रायविरुद्ध ७६ लाख २८ हजार ५०२ रुपैयाँ, तत्कालीन कार्यकारी निर्देशकहरू सूर्यदेव साह, राजेशकुमार साह तेली विरुद्ध ६२ लाख ८८ हजार ५६९ रुपैयाँ बिगो कायम गरिएको थियो । नासु मिश्रविरुद्ध ६६ लाख ४२ हजार ६६४ रुपैयाँ, लेखापाल ढकालविरुद्ध ६२ लाख ८८ हजार ५६९ रुपैयाँ, बिगो कायम गरिएको थियो ।