अपडेट 
२०७९ चैत्र २१, मंगलवार ०७:४०

रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुले केही विपक्षीहरुले आफूलाई बदनाम गराउन र फँसाउन आफना नाममा नक्कली परीक्षार्थी खडा गरी एसइई दिन लगाएको बताएका छन् । आफूले एसईई परीक्षा दिन फारम नै नभरेको बताउँदै मेयर साहले आफूलाई फँसाउने नियतले केही विपक्षीले आफना नामको नक्कली विद्यार्थी खडा गरेर अरुसंग परीक्षा दिन लगाइ आफनो चरित्र हत्या गरेको आरोप लगाएका छन् ।

मेयर साहले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफनो बारेमा विभिन्न सञ्चारमाध्यममा आएको खबरमा कुनै सत्यता नरहेको प्रष्ट पारेका छन् । मेयर प्रेमलाल साहले आफनो सट्टा ज्वाईलाई राखेर एसईई परीक्षा दिन लगाएको भनी आइतबार सामाजिक सञ्जालदेखि लिएर विभिन्न अनलाईन, पत्रपत्रिका लगायतका सञ्चारमाध्यममा आफना नाम जोडेर प्रकाशन प्रसारण भएको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको मेयर साहले बताए । आफू कुनै विद्यालयको विद्यार्थी वा परीक्षार्थी नभएको र एसईई परीक्षामा सहभागी नै नभएको मेयर कानुले दाबी गरे । आफू एसईईको परीक्षार्थी नै नभएको र आफनो नाममा कसैलाई पनि जाँच दिन नभनेको दाबी गर्दै मेयर साहले विपक्षीले आफूलाई फसाई पदमुक्त गराउने उद्देश्यले आफना नामको नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको प्रष्ट पारेका छन् ।

मेयर प्रेमलाल साहले आफना नामको सट्टा आफनै ज्वाइ गरुडा नगरपालिका ६ पोठियाही घर भएका पेशाले इन्जीनीयर रहेका कमल साहलाई राखेर परीक्षा दिन लगाएको उनीमाथि आरोप लगाइएको छ । आइतबार मात्र मौलापुर नगरपालिका–२ स्थित रहेको लक्ष्मीनियाँ माध्यमिक विद्यालय परिक्षा केन्द्रमा संचालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी मेयर प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिएको आरोपमा कमल साहलाई परीक्षा अनुगमन समितिको टोलीले पक्राउ गरेको थियो ।

Comment


Related News