अपडेट 
२०७९ चैत्र २१, मंगलवार ०७:४६

देशभरि माध्यमिक शिक्षा परीक्षा (एसईई) जारी छ । सोमबार विद्यार्थीहरुले नेपाली विषयको परीक्षा दिएका छन् । तर धनुषाको एक परीक्षा केन्द्रमा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञान विषय प्रश्नपत्र पुग्दा करिब ३० मिनेट ढिलो गरी परीक्षा सञ्चालन भएको थियो । यसअघि पनि धनुषामा पहिलो दिन अंग्रेजी विषयको परीक्षामा नेपाली विषयको प्रश्नपत्र पुग्दा ५० मिनेट ढिलो परीक्षा सञ्चालन भएको थियो । सबैला नगरपालिकाको रामप्रसाद माविमा सोमबार विज्ञान विषयको प्रश्नपत्र पुगेको थियो । खामको माथि नेपाली लेखिए पनि भित्र विज्ञान विषयको प्रश्नपत्र भेटिएको हुनाले पुनः उक्त प्रश्नपत्रलाई शील गरी नेपालीको प्रश्नपत्र पठाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । प्राविधिक त्रुटिले गर्दा यस्तो समस्या देखिएको उनले प्रष्ट पारे । तर, धनुषामा मात्रै दुई पटक यस्तो त्रुटि दोहोरिएपछि नागरिकको मनमा जिज्ञासा उठ्न थालेको छ ।

प्रश्नपत्र बाहिर ल्याउने षड्यन्त्र रहेको कतिपयको अनुमान छ । पहिलो दिन अंग्रेजी विषयको परीक्षामा औरही गाउँपालिका स्थित मा.वि. चक्कर परीक्षा केन्द्रमा नेपालीको प्रश्नपत्र पुग्दा पनि ५० मिनेट ढिलो परीक्षा सञ्चालन भएको थियो । शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्माले माथिबाट नै आएको सिल प्याकमा त्रुटि देखिएको प्रष्ट पारेका छन् । ‘हामीले यहाँ सिल गरी आएको प्रश्नपत्र खोल्ने गरेका छैनौं,’उनले भने,‘सुरक्षाको लागि प्रश्नपत्र प्रहरीको जिम्मा छ ।’ परीक्षा केन्द्रमा ३० मिनेट पहिले प्रश्नपत्र पोकाको सिल खोलिने गरिएको उनले बताए । उनका अनुसार स्थानीय नजिकको प्रहरी चौकीमा सुरक्षासहित प्रश्नपत्र राखिएको छ ।

अभिभावक पक्राउ

एक परीक्षा केन्द्रबाट मर्यादा विपरीत काम गरेको आरोपमा एक अभिभावक पक्राउ परेका छन् । शहीदनगर नगरपालिका–७, धबउलीका ४८ वर्षीय रामबाबु मण्डललाई प्रहरीले पक्राउ गरेको छ। सोमबार बिहान प्रहरीले उनलाई सबैला नगरपालिकास्थित जनता मावि परीक्षा केन्द्रबाट नियन्त्रणमा लिएको छ । उनले आफ्नो विद्यार्थीलाई झ्यालबाट ‘चिट’ दिने प्रयास गरेका थिए । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यसअघि पनि दुई जना धनुषाबाट पक्राउ परेका थिए । उनीहरुमाथि प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएका छन् ।

सिडियोद्वारा एसईई निरीक्षण

धनुषाका प्रमुख जिल्ला अधिकारी काशी राज दहालले माध्यमिक शिक्षा परीक्षा (एसईई) को स्थलगत निरीक्षण गरेका छन् । सोमबार नेपाली विषयको परीक्षामा उनले तीन वटा परीक्षा केन्द्रमा निरीक्षण गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–२०स्थित देवपुरास्थित जनता माध्यमिक विद्यालय, नगराइन नगरपालिका–३ को गिरिजा मावि बहिरी फुलगमा र राजेश्वर निधि उच्च माविमा निरीक्षण गरेका छन् । निरीक्षणमा धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतम, अनुसन्धानका र सशस्त्र प्रहरीका प्रतिनिधिहरु सहभागी भएका थिए । प्रमुख जिल्ला अधिकारी दहालले मर्यादित रुपमा परीक्षा सञ्चालन गर्न/गराउन निर्देशनसमेत दिएका थिए । केन्द्राध्यक्षहरुले परीक्षा शान्तिपूर्ण नै भइरहेको बताएका थिए । परीक्षा केन्द्रको अगाडि देखिने भीडभाड नगर्न उनले अभिभावकसँग अनुरोध गरेका थिए ।

Comment


Related News