अपडेट 
२०७९ चैत्र २१, मंगलवार ०७:५१

सर्लाहीका दुई वटा चिनी उद्योगले उखुको भुक्तानी दिन आलटाल गरिहेकोले किसानहरु समस्यामा परेका छन् ।

उखु क्रसिङ सम्पन्न भएर लामो समय बितिसक्दा पनि अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहले रकम भुक्तानीमा आलटाल गरिरहेको किसानहरुको आरोप छ । ती उद्योगहरुलाई उखु दिएका किसानले मिल बन्द भएको एक महिनासम्म पनि भुक्तानी नपाएको गुनासो गरेका छन् । शुरुमा केहीलाई भुक्तानी दिएर यी दुबै चिनी उद्योगका सञ्चालक अहिले आफूहरूसँग सम्पर्कमै नरहेको गोडैता नगरपालिका–९, का किसान रामशरण यादवले गुनासो पोखे । शुरुमा केही किसानलाई भुक्तानी दिएको र बाँकी किसानको पैसा दिन मिलले वास्तै नगरेको दुखेसो पोख्दै यादवले भने,‘मिल बन्द भइसकेको एक महिनासम्म पनि उद्योगी सम्पर्कमा नआउँदा हामीलाई घर व्यवहार चलाउन गाह्रो परिसकेको छ ।’ उद्योगले उखु बेचेको पैसा नदिँदा बालबालिकाको विद्यालयमा शुल्क बुझाउन नपाएको यादवले गुनासो गरे । उखु खेतीबाटै व्यवहार चलाउने किसान उद्योगबाट पैसा नपाउँदा साहुमहाजनबाट ऋण काढ्न बाध्य भएका छन् ।

धनकौल गाउँपालिका–३, का उखु किसान रामस्वार्थ साहले उखुको पैसा नपाउँदा उखु काट्ने जन, ढुवानी गर्ने ट्रयाक्टरको पैसा धरी तिर्न नपाएको गुनासो गरे । “उखु फलाउँदादेखि उद्योगसम्म लगेर बुझाउँदासम्मको उधारो छ तर उद्योगले कहिले पैसा दिन्छ भन्ने अन्योल छ,’ उखु किसान साहले भने । अब पनि चिनी उद्योगले भुक्तानी नदिए मिटरब्याजबाट पीडित भएकाहरूले झैँ आफूहरू पनि आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी साहले दिए । सर्लाहीका तीनवटा चिनी उद्योगमध्ये इन्दुशङ्कर चिनी उद्योग हरिवनबाट भने उखु किसानले क्रमिक रूपमा भुक्तानी पाइरहेको बताइएको छ । किसानलाई भुक्तानीमा आलटाल गर्ने अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहका सञ्चालक स्थानीय प्रशासन र सञ्चारकर्मीको समेत सम्पर्कमा आउन चाहँदैनन् । बेलैमा भुक्तानी नदिने समस्याका कारण पछिल्ला वर्षमा किसानले अन्यत्र ठाउँका चिनी उद्योग र सखर बनाउने उद्योगलाई उखु बेच्न थालेका छन् ।

भुक्तानीकै झन्झटका कारण उखु खेती छाड्ने किसान पनि बढ्दै गएका छन् । उखु खेती घट् दा चिनी उद्योगहरू उखु नपाएर छिटै बन्द हुने अवस्थामा पुगेका छन् ।

Comment

Related News

Latest News

Trending News