
जनकपुरधाममा हुने मेयर कप टी– २० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
जनकपुरधाम उपमहानगरपालिका रजौलस्थित निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्य रंगशालामा यही चैत २३ गते देखि प्रतियोगिता हुन लागेको छ । आयोजक समितिले सोमबार खेल तालिका पनि सार्वजनिक गरेको छ । प्रतियोगिताको उद्घाटन खेल जनकपुर र महोत्तरी टिमबीच हुने आयोजक समितिका सरोज मिश्रले जानकारी दिए । उनका अनुसार प्रतियोगिता दश दिन सम्म हुने छन् । पहिलो र फाइनल बाहेक प्रत्येक दिन दुई÷दुई वटा खेल खेलाइने छ । प्रतियोगितामा सहभागी भएको १२ वटा टिमका लागि चार वटा समूह बनाइएको छ । जानकी समूहमा जनकपुरधाम, महोत्तरी र सिरहा रहेको छ ।
यस्तै, मिथिलामा काठमाण्डु, सप्तरी र पोखरा छ । वैदेही समूहमा हेटौंडा, बारा र रौतहट टिम छन् भने भूमिजा समूहमा विराटनगर, सर्लाही र पर्सा क्रिकेट टिम परेका छन् । सबै समूह गोला प्रथाबाट छनोट गरिएको छ । प्रतियोगिताको फाइनल खेल बैशाख १ गते गराउने आयोजक संस्थाको तयारी छ । प्रतियोगिता विजेता टिमलाई नगद अढाइ लाख र उपविजेतालाई डेढ लाख नगदसहित कप र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।