
रौतहट जिल्लामा वारुण यन्त्रको अभाव भएको छ । जिल्लास्थित १६ वटा नगरपालिका र २ गाउँपालिकासहित १८ स्थानीय तह रहेकोमा जम्मा दुई वटा पालिकामा वारुण यन्त्र सञ्चालनमा रहेको छ । जिल्लाको दक्षिणी भेग भारतीय सिमानासंग जोडिएर रहेको गौर नगरपालिका र गौर देखि ४२ किलोमिटरको दूरी उत्तरमा रहेको चन्द्रपुर नगरपालिकाको वारुण यन्त्र सञ्चालनमा रहेको छ । जिल्लाका ८ लाख १३ हजार ५ सय जनसँख्यालाई विपद (आगलागी)को बेला सेवा दिनका लागि जम्मा दुईवटा वारुण यन्त्र रहेको छ । पुरानो संरचना भएको बेला नै गौर नगरपालिकाले आगो निभाउने उद्देश्य राखेर वारुण यन्त्र खरिद गरी सञ्चालनमा ल्याएको थियो भने नया संरचना हँुदा चन्द्रपुर नगरपालिकाले वारुण यन्त्र खरिद गरेको छ ।
गौर नगरपालिकाले गरुडा नगरपालिकालाई प्रदान गरेको वारुणयन्त्र मर्मत सम्भारको अभावमा थन्केर बसेको छ जसको कारण सो नगरपालिका वरिपरि आगलागीको घटना हुँदा २५ किलोमिटर टाढाबाट वारुणयन्त्र आउने गरेको बाध्यता रहेको छ । सड़क निर्माणमा प्रयोग हुने ट्रीपर , जेसीवी , हेस्काभेटर , लोडर ,ग्रेडर लगायतका सामग्री खरिद गर्न होड़वाजी गर्ने रौतहटका पालिका प्रमुखहरुले मानिसको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने सुविधा वारुण यन्त्र , एम्बुलेंस , चिकित्सकको व्यवस्थापनतर्फ ध्यान दिन नसकेको जनगुनासो छ । रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले रौतहटमा बारुण यन्त्रको अभाव रहेकोले विपद्को समयमा समस्या उत्पन्न हुने गरेको बताउँछन् । रौतहटमा आगलागीको घटनामा उच्च जोखिममा रहेकोले वारुण यन्त्रको थप व्यवस्था गर्नु पर्ने जरुरी रहेको आवश्यकता औंल्याए । पायक पर्ने स्थानीय तहले आपसी तालमेल गरी वारुण यन्त्र खरिद गरी सञ्चालनमा ल्याए स्थानीयहरुलाई सहज हुने धारणा राखे । केही दिन अघि रौतहटको ईशनाथ नगरपालिका–६ जयनगरमा आगलागी हुँदा एक जना १२ वर्षीया युवतीको जलेर मृत्यु भएको थियो । गत बुधवार राति गौर नगरपालिका–४ मा गनिफि मियाँको कुखुरा फार्ममा आगलागी हँुदा लाखौ मूल्य बरावरको धनमालको क्षति भएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार रौतहटमा आगलागीको घटनामा वृद्धि भएर गएको छ ।
चालु आर्थिक वर्षको चैत महिनासम्म १ सय २२ वटा भएको आगलागीको घटनामा ८ बालबालिकासहित १३ जनाले ज्यान गुमाइसकेको छ भने १० करोड़ ७९ लाख भन्दा बढ़ी मूल्य बरावरको क्षति भएको प्रहरीको प्रारंम्भिक अनुसन्धानले देखाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय विपद व्यवस्थापन तथा पूर्व तयारीको लागि वारुण यन्त्र , एम्बुलेंस लगायतका अतिआवश्यक सामग्री खरिद व्यवस्थापन सञ्चालन गर्न सकिने कÞानूनी अधिकार प्राप्त गरे पनि निर्वाचित जनप्रतिनिधिहरु त्यसतर्फ कुनै चासो देखाएका छैनन् । नगर प्रमुख र उपप्रमुखले आफ्नो बिलासिताको लागि सवारी साधन खरिद गर्न मरिहत्ते गर्ने गरेका छन् तर विपद् व्यवस्थापनसंग सम्बन्धित सवारी साधन खरिद गर्न कुनै ध्यान नदिएको स्थानीयवासीहरुको आरोप छ ।