अपडेट 
२०७९ चैत्र २१, मंगलवार ०७:५९

पर्सा राष्ट्रिय निकुञ्ज र ठोरीलाई जोडेर मधेश प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्न माग गरिएको छ । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीहरुले पर्सा राष्ट्रिय निकुञ्ज र ठोरी क्षेत्रलाई मधेश प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्न माग गरेका छन् ।

ठोरीमा सोमबार मधेश प्रदेशको उद्योग पर्यटन तथा वन मन्त्री सुनिता यादव र वीरगञ्ज उद्योग बाणिज्य संघका पदाधिकारीहरुको सम्मानमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्ज र ठोरी गाउँपालिकाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सो माग अघि सारिएको छ । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले मधेशका उद्योग पर्यटन तथा वन मन्त्री सुनिता यादव समक्ष सो माग अघि सारेका छन् । व्यवसायी पन्तले मधेशको पर्यटन प्रवद्र्धनमा केन्द्र र प्रदेश दुबै सरकारले चासो नदिएको गुनासो पोखे । कार्यक्रममा वन मन्त्री यादवले अघिल्लो सरकारले गरेको अदूरदर्शी कामकारबाहीको जिम्मा आफूले नलिने स्पष्ट पार्दै पर्यटनको प्रबल सम्भावना बोकेको ठोरीको विकासका लागि प्रदेश सरकारले योजना बनाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले मन्त्रालय टुक्रिने क्रममा रहेकोले यदि आफू पर्यटन मन्त्रालयमै रहिरहे ठोरीको पर्यटन प्रवद्र्धनमा मास्टर प्लान बनाएर अगि बढ्ने बताइन् । उनले भनिन्,‘यदि मन्त्रालय टुक्रिएर म वन मन्त्री भए भने पनि आफूले ठोरीको पर्यटकीय विकासलाई प्राथमिकतामा राखेर काम गर्नेछुँ।’

कार्यक्रममा वीरगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष अनिल पट् वारीले पनि ठोरीको पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको पनि सहयोग रहने बताए । ठोरी गाउँ पालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले ठोरीको पर्यटनका विभिन्न समस्याहरु राख्दै ठोरी सधै सबैबाट उपेक्षित भएको गुनासो पोखे । हरि पन्तको सभापतित्वमा सप्पन्न कार्यक्रममा वीरगञ्ज उद्योग बाणिज्य संघका पदाधिकारी , कार्यसमिति सदस्य्हरु , वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीहरुहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Comment

Related News