अपडेट 
२०७९ चैत्र २१, मंगलवार ०९:११

वैशाख १० गते हुने उपचुनावका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन पाइने छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारका विरोधमा कुनै उजुरी भए दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

तनहुँ १, बारा २ र चितवन २ मा हुने उपचुनावका लागि हिजो उम्मेदवारी दर्ता भएको थियो । उम्मेदवारमाथि परेको उजुरीमा भोलि बेलुकी ५ बजेसम्म जाँचबुझ गरी निर्णय गर्ने र बेलुकी ६ बजेभित्र उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।  यस्तै, उम्मेदवारी फिर्ता लिन इच्छुक व्यक्तिले पर्सि बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म फिर्ता लिन सक्ने छन् ।

बिहीबार दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले चुनाव चिह्न पाउनेछन् । आउँदो वैशाख १० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

गएको मङ्सिर ४ गते भएको चुनावमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

उपचुनावका लागि हिजो राजनीतिक दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपचुनावलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । खासगरी कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपालाई अस्तित्व जोगाउने चुनौती छ ।

Comment


Related News