
नेकपा एमालेका मन्त्रीहरुले मधेश प्रदेश सरकारबाट राजीनामा दिएका छन् । एमाले मधेश प्रदेश संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले मंगलवार दिउँसो मुख्यमन्त्री सरोज कुमार यादवलाई सामूहिक राजीनामा बुझाएका छन् ।
एमाले दलका नेता यादवलाई मुख्यमन्त्री यादवले राजनीतिक समीकरण फेरिएकाले राजीनामा दिन आग्रह गरेका थिए ।केन्द्रीय सत्ता गठबन्धन परिवर्तन भइसकेको र संघीय सरकारबाट एमाले बाहिरिएको अवस्थामा मधेश प्रदेश सरकारबाट हटाउन नेपाली कांग्रेसले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवमाथि दबाब बनाएका थिए । मधेश प्रदेश सरकारमा एमालेका ४ जना मन्त्री र १ जना राज्यमन्त्रीको राजीनामा मुख्यमन्त्रीले स्वीकृत गरेका छन् ।एमालेबाट सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीले दिएको राजीनामा स्वीकृत गरिएको मुख्यमन्त्री यादवले बताए । ‘संघीय सत्ता गबठन्धन फेरिएर अर्को गठबन्धन बनेको छ ’मुख्यमन्त्री यादवले भने, मधेश प्रदेश सरकारमा पनि त्यसको प्रभाव परेको छ । मधेश प्रदेश सरकार गठनमा एमालेले समर्थन गरेका थिए ।
जसपा संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा प्रदेश सरकार गठनका लागि एमाले, जनमत पार्टी मुख्य थिए ।यद्यपि मुख्यमन्त्री यादवलाई प्रदेश सभामा रहेका सबै सभासदले विश्वासको मत दिएका थिए । मधेश प्रदेशको बारा–२ मा वैशाख १० गते निर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ता गरिएको छ ।मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव चुनाव लडेका छन् ।नेकपा एमालेले पनि उम्मेदवारी दिएको कारण मधेश प्रदेश सरकारबाट मन्त्रीहरुलाई नहटाइएको मुख्यमन्त्री यादवले प्रष्ट्याएका छन् । ‘केन्द्रीय स्तरमा दलहरुको गठबन्धनकै आधारमा सबै प्रदेशमा सरकार फेरबदल हुँदैछ ’ उनले भने, मधेश प्रदेशमा पनि केही मन्त्री हट्ने केही थपिने प्रकृया अगाडि बढेको छ ।
एमाले संसदीय दलका नेता एवं निवर्तमान मन्त्री सरोज यादवले जनाए अनुसार फरक गठबन्धनको कारण सरकारमा रहँदा मुख्यमन्त्री यादवलाई काम गर्न सहजताका लागि सरकारबाट बाहिरिएको बताए ।‘झण्डै ३ महिना सरकारमा रहँदा परस्पर सहयोग र सद्भाव रहेको थियो’ उनले भने, राजनीतिमा यस्ता घटनाहरु अस्वभाविक नभए पनि सरकारलाई ५ वर्षको लागि गरेको समर्थन बीचमै तुहिएको छ । ‘मधेश प्रदेश सरकारमा अब कांग्रेस, लोसपा र नेकपा एसको सहभागिता हुन्छ ’मुख्यमन्त्री यादवले भने, मन्त्रिमण्डल विस्तार चुनावपछि मात्र हुनेछ ।उपनिर्वाचनका लागि आचारसंहिता जारी भइसकेकाले मन्त्रिमण्डल विस्तार गर्न नमिल्ने उनले बताए । एमालेका ४ जना मन्त्रीको राजिनामाले रिक्त भएका मन्त्रालयहरुको कार्यभार मुख्यमन्त्री यादवलाई नै थपिएको छ ।एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री यादव, गृह तथा सञ्चार सत्रुधन प्रसाद सिंह कोइरी, न्याय, कानुन तथा प्रदेश मामिला मन्त्री राजकुमार लेखी र महिला, बालबालिका, युवा तथा खेलकुद मोहम्मद जैद आलम र गृह तथा सञ्चार राज्यमन्त्री केशव राय रहेका थिए ।
सरकारबाट एमाले हटे पनि समर्थन फिर्ता नलिएको कारण मुख्यमन्त्री यादवलाई तत्काल विश्वासको मत लिनुपर्ने आवश्यकता नरहेको जसपाका नेता हरिनारायण यादवले बताए ।‘प्रदेशको सर्वसम्मत मुख्यमन्त्री रहेकाले विश्वास मतको कुनै समस्या छैन्’ उनले भने, एमालेले समर्थन फिर्ता लिएको घोषणा गरेपछिको बखत विश्वास मत पनि लिइनेछ । सरकारबाट समर्थन फिर्ता नलिए पनि सरकार बाहिर भइसकेपछि प्रदेश सभामा सबै भन्दा ठूलो दलको हैसियतमा प्रमुख प्रतिपक्षी दलको भूमिका एमालेले निर्वाह गर्नेछ ।
‘प्रदेश सभामा अब हाम्रो भूमिका प्रमुख प्रतिपक्षको हुनेछ ’एमाले दलका नेता यादवले भने, एमालेले प्रतिपक्षमा रहेर पनि सरकारलाई सकारात्मक काममा रचनात्मक सहयोग गर्नेछ । मधेश प्रदेशको सभामुख , ४ मन्त्रालय र १ राज्यमन्त्री लिएर एमालेले जसपासित गठबन्धन गरेको थियो ।गठबन्धन भत्किए पनि मधेश प्रदेशका सभामुखमा एमालेका रामचन्द्र मण्डल नै रहेका छन् ।कांग्रेसले एमालेको भागमा रहेका मन्त्रालय र सभामुख ताकेका छन् । प्रदेश सभा सदस्यहरुको खाता खोल्ने विषयमा कांग्रेस र सभामुख मण्डलबीच विवाद भएको थियो ।सो विषयलाई कांग्रेसले सभामुखको पदीय आचरण विपरीत कार्य गरेको अभियोग लगाएर पदमुक्त गर्ने तयारीमा रहेको छ ।