अपडेट 
२०७९ चैत्र २२, बुधबार ०७:२९

सशस्त्र प्रहरी बल सिरहाले अवैध उत्खन्न गरिरहेको भन्दै चोहर्वाबाट दुईवटा टिपर र एउटा जेसीबी नियन्त्रणमा लिएको छ ।

सिरहाको नरहा गाउँपालिका–३ चोहर्वामा अवैध रुपमा रातिको समयमा ग्राभेल उत्खनन् गरिरहेको अवस्थामा ना १ ख ९७७९ नम्बरको जेसीबी, ना ८ ख ५४५४ र ना ३ ख ८६६२ नम्बरको टिपर सशस्त्र प्रहरी गोलबजारको टोलीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा चोहर्वास्थित वन क्षेत्र नजिकको जग्गाबाट ग्राभेल उत्खनन् गरिरहेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरीको टोलीले सोमबार अबेर राति ११ बजे जेसीबी र टिपर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक हेमन्त सिंहले जानकारी दिएका छन् । नियन्त्रणमा लिइएको जेसीबी र टिपरलाई कारबाहीका लागि जिल्ला समन्वय समितिलाई बुझाइएको सिंहले बताए ।

यसअघि गत फागुन २९ गते जिल्ला समन्वय समिति सिरहाको अनुगमन टोलीले सोही स्थानबाट ग्राभेल उत्खननमा प्रयोग गरिएका तीनवटा स्काइभेटर नियन्त्रणमा लिएको थियो । गोलबार नगरपालिका–९ र नरहा गाउँपालिका–३ स्थित चोहर्वा क्षेत्रबाट ४० फिटभन्दा गहिरो खाल्डो खनी अवैध रुपमा ग्राभेल उत्खनन् हुँदै आएको छ । खानी दर्ता, उत्खनन्, भण्डारण र सञ्चालन समेतको नियमन गर्ने जिम्मेवारी स्थानीय तहको रहेको छ तर तर नरहा गाउँपालिका अध्यक्ष रामप्रमोद यादवले आफ्नो गाउँपालिकामा अहिलेसम्म कुनै पनि खानी दर्ता नभएको जानकारी दिएका छन् । अवैध उत्खनन् भएकोबारे आफूलाई कुनै जानकारी नै नरहेको उनले बताए । उत्खनन गरेको पाइएमा कडा कारबाही गर्ने उनले चेतावनी समेत दिएका छन् ।

Comment

Related News

Latest News

Trending News