अपडेट 
२०७९ चैत्र २२, बुधबार ०७:३२

नेपाल टेलिकमले फाइवर ओछ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको भन्दै वीरगञ्ज महानगरपालिकाले टेलिकमको परिसरमा फोहोर थुपारेर विरोध जनाएको छ ।

टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक बिगार्दा नगरवासीले समस्या भोग्नु परेको भन्दै महानगरले निर्माणका लागि पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि श्रीपुरस्थित टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा सांकेतिक विरोध स्वरुप फोहोर फालेको छ । महानगरपालिकाले वीरगञ्जमा सन्चालन गरिरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगरप्रहरीसहितको टोलीले ७ ट्रयाक्टर कचरासहितको फोहर टेलिकमको परिसरभित्र लगेर फालेको छ । टेलिकमले अप्टिकल फाइवर ओछ् याउने क्रममा बाइपास सडकखण्डको करिब ५ किलोमिटर कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको छ । खनिएका सडक र फुटपाथ मर्मतका लागि पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर टेलिकम परिसरमा कचरा सहितको फोहोर फाल्नु परेको महानगरप्रमुख राजेशमान सिंहले बताए । कार्यालयमै फोहर फालेपछि खनेर अलपत्र छाडिएका सडक र फुटपाथ मर्मतका लागि अब टेलिकमलाई दवाब पर्ने मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले बताए ।

गत फागुन ३ गते प्रमुख जिल्ला अअधिकारीकै उपस्थितिमा बसेको सरोकारवाला निकायहरुको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्त भित्रै मर्मत गरिसक्ने लिखित सहमति गरेको स्वकीय सचिव घिमिरेले स्पष्ट पारे । उक्त सहमति कार्यान्वयनका लागि महानगरपालिकाले टेलिकमलाई पटक– पटक ताकेता गर्दै आएको थियो । फोहरसहितको ट्रयाक्टर लिएर टेलिकम परिसरमा आफैं पुगेका घिमिरेले भने, ‘ वीरगञ्ज शहरलाई सफा र सुन्दर बनाउन महानगरले अभियान नै चलाइरहेको छ, यो अवस्थामा टेलिकमले सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र पार्दा बाइपास सडक कुरुप बनेको छ, त्यसलाई पहिलेकै अवस्थामा पुग्ने गरी मर्मत गरिदेउ भनेर पटक पटक आग्रह गर्दा कुनै टेरपुच्छर नलगाएपछि हामी यो अप्रिय कदम चाल्न बाध्य भएका छौं।’ उक्त सहमति पालना गराउनका लागि महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय पर्सालाई पनि पत्र लखेर आग्रह गर्दा समेत टेलिकमले नटरेको घिमिरेले प्रष्ट पारे । घिमिरेले भने,‘अब हामीले कति चोटी अनुरोध गर्ने ? हामीसंग अरु कुनै विकल्प नै भएन, नागरिकलाई त महानगरपालिकाले नै काम गरेन भन्ने सन्देश गइरहेको छ, महानगर अब टुलुटुलु हेरेर बस्न सक्दैन, त्यसकारणले गर्दा आज फोहोर ल्याएर टेलिकममा फालिएको हो, अब मिडियाबाट यो विषय टेलिकमको केन्द्रीय कार्यालयमा पुग्नेछ र समस्याको सामधान हुनेछ भन्ने अपेक्षा लिएका छौं ।’

महानगरले सञ्चालन गरेको सफा र सुन्दर शहर बनाउने अभियानमा टेलिकमले भाँजो हालेको पनि उनले आरोप लगाए । टेलिकमले खनेर अलपत्र परेको सडक उसैले बनाउनु पर्नेमा बनाउन ढिला गर्दा नगरवासीले लामो समयदेखि समस्या भोग्दै आएका छन् । यो सडक खण्डमा नेपाल खानेपानी संस्थान र मोतिहारी अमलेखगंज पेट्रोलियम पाईपलाईनले समेत आफनो योजना कार्यान्वयनका क्रममा सडक खनेका छन् । खानेपानी र पेट्रोलियमले अपेक्षित काम गरे पनि टेलिकमले कामै नगरेपछि आजको कदम चालिएको घिमिरेले बताए ।

Comment


Related News

Latest News

Trending News