
दिउँसै रक्सी सेवन गरी जिल्ला प्रहरी कार्यालय सप्तरीकै परिसरमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवमाथि कुटपिट गर्ने प्रहरी अधिकारीमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।
प्रहरी निरीक्षक थापामाथि कडा कारबाहीको माग गर्दै जनता समाजवादी पार्टी सप्तरी जिल्ला समितिले मंगलबारै विरोध प्रदर्शन गरेको छ । उनीहरूले जिल्ला प्रहरी कार्यालय सप्तरीको मूल द्वारमा टायर बालेर प्रर्दशन गरेका छन् । अध्यक्ष केदार यादवले साइबर अपराधसम्बन्धी मुद्दामा आरोपिलाई छोड्दिन सिफारिस गर्न पुग्दा जिल्ला अध्यक्ष यादवलाई प्रहरी निरीक्षक थापा मगरले गालाीगलौज गर्दै कुटपिट गरेकाले विरोध गर्न बाध्य भएको जसपाका जिल्ला उपसचिव शम्भुकुमार यादवले बताए । प्रदर्शनका कारण प्रहरी कार्यालय वरपरको अवस्था तनावग्रस्त बनेको थियो । ‘इन्स्पेक्टर नवीन थापामगरले के तपाईं सिफारिस गर्न आएको? शत प्रतिशत केटाकै गल्ती छ उनलाई कारबाही हुन्छ भने। अध्यक्ष यादवजीले पहिले अनुसन्धान गर्नुस्, दोषी छ भने कारबाही गर्नुस् भन्नुभयो । इन्स्पेक्टर चर्केर बोलिर हे,’ उपसचिव यादवले भने, ‘इन्स्पेक्टरले म केही सुन्दिँन म जे गर्छु त्यही हुन्छ भनेर फाइट हानदिए । हान्ने तरिकाले लाग्छ इन्स्पेक्टरले केही खाएका थिए। फोहोर गाली गलौज पनि गरे। प्रहरीले कुटेर उल्टै मोबाइल पनि खोसे र थुनामा राखदिए।’,उपसचिव यादवले बताए । यता प्रहरी निरीक्षक थापाको कुटपिटबाट अध्यक्ष यादवको टाउकोमा गम्भीर चोट लागेको छ भने उनको राजविराजस्थित गजेन्द्रनारायण सिँह प्रादेशिक अस्पतालमा उपचार भइरहेको जसपा नेपालका विद्यार्थी नेता श्याम कुमार यादवले जानकारी दिए ।
इन्स्पेक्टरलाई तत्काल निलम्बन गर्नुपर्ने जसपाका नेता÷कार्यकर्ताको माग छ। प्रहरी रक्षक नभएर भक्षकको रूपमा देखिएकाले आफूहरु प्रदर्शन गरेको उनीहरुले बताए । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश सिंहले अध्यक्ष यादवलाई इन्स्पेक्टर थापामगरले कुटपिट नगरेको दाबी गरे। ‘साइबरसम्बन्धी एउटा केसलाई लिएर अध्यक्षजी र इन्स्पेक्टर साबको बीचमा विवाद भएको हो। एउटा बच्चीको फोटो टिकटकमा अश्लील तरिकाले एकजना युवकले राखेको थियो। केटालाई कारबाही गर्न नहुने उनको कुरा थियो। तर बच्चाको इज्जतसँग जोडिएको कुरा भएकाले केटालाई छाड्न मिल्दैन भनेर हाम्रो इन्स्पेक्टरले भने,’ डिएसपी सिंहले भने, ‘किन हुँदैन भनेर उनी (अध्यक्ष यादव) झर्केर बाहिर निस्किँदा टाउको भित्तामा ठोकिएको कुरा आएको छ । ठोक्किएर उनको टाउकोमा चोट लागेको हो। उनले अहिले कुटेको भन्दै हुनुहुन्छ।’